सुर्खेत । जिल्ला अस्पताल कालिकोटले सुविधा सम्पन्न भवन पाएको छ । लामो समयदेखि स–साना टिनका टहराबाट सेवा प्रवाह गर्दै आएको अस्पतालको सोमबार नवनिर्मित सुविधा सम्पन्न भवनको उद्घाटन गरिएको हो । योसँगै टिनको टहराबाट सेवा दिनुपर्ने बाध्यता पनि हटेको छ ।
प्रदेश सरकारबाट झण्डै २६ करोड लागतका ५० शय्याको उक्त भवन बनेको हो ।
०४७ मा हेल्थ सेन्टरको रूपमा स्थापना भएको अस्पताल पछि जिल्ला अस्पतालमा परिणत हुँदै अहिले ३० शय्याको सेवा दिइरहेको छ । अहिले नयाँ बनेको भवनले ५० शय्याको सेवा दिन सकिने छ ।
कालिकोट, अछाम र बाजुराका केही स्थानीय तहका गरी २ लाखभन्दा बढी बिरामीहरुलाई सेवा दिँदै आएको कालिकोट जिल्ला अस्पतालमा अहिले सिटी स्क्यान मेसिन भने छैन ।
युएसजी मेसिन पुरानो भइसकेको छ । जसले थ्रिडी र फोरडी अल्ट्रा साउण्ड नहुँदा जटिल सुत्केरीको अवस्था पत्ता लगाउन समस्या भएको अस्पतालका कर्मचारी बताउँछन् ।
तीन विशेषज्ञ डाक्टरको दरबन्दी भएपनि अहिले यहाँ विशेषज्ञ डाक्टर छैनन् । ४ जना मेडिकल अधिकृतसहित ४८ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेको अस्पताल प्रमुख डाक्टर भीष्म पोखरेलले बताए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सामाजिक विकास मन्त्री घनश्याम भण्डारी नयाँ भवन उद्घाटन कार्यक्रममा सहभागी थिए ।
झिल्को खबर । ४ मंसिर २०८१, मंगलवार १२:२५