सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको नवर्निमित शैक्षिक भवनको उद्घाटन गरेका छन्।
प्रतिष्ठानको पहिलो दिक्षान्त समारोह र सिनेट बैठकलगायतका कार्यक्रममा सहभागी हुन बुधबार जुम्ला पुगेका प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नयाँ शैक्षिक भवनको औपचारिक उद्घाटन गरेका हुन्।
भवन उद्घाटन लगत्तै प्रतिष्ठानको सिनेट बैठक सुरु भएको छ। सिनेट बैठकपछि दिक्षान्त समारोह सुरु हुने छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेढ दशकपछि आफ्नै सुविधायुक्त शैक्षिक भवन पाएको छ। २०६८ सालमा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हालसम्म भाडाकै घरमा अध्यापन गर्दै आएको थियो। तर झण्डै १३ वर्षपछि भने प्रतिष्ठानले आफ्नै शैक्षिक भवन पाएको हो।
प्रतिष्ठानमा एक दर्जन बढी स्नातक र स्नातकोत्तर तहका कार्यक्रम संचालन छन्। त्यसका लागि एक सय प्रोफेसर छन्। तर प्रतिष्ठानको आफ्नै आवास र शैक्षिक भवन नहुँदा घर भाडामा लिनुपर्ने बाध्यता थियो। आफ्नो शैक्षिक भवन र स्टाफ क्वाटर नहुँदा प्रतिष्ठान भाडामा मात्रै वर्षेनी करोडौँ खर्चिन बाध्य थियो ।
जुम्लामा आउने प्राध्यापकहरुलाई टिकाइराख्न, प्रतिष्ठानमा संचालित कार्यक्रमहरुलाई दिगो बनाउन प्रतिष्ठानले आफ्नै शैक्षिक, प्रशासनिक तथा आवास भवन बनाउन थालेको थियो ।
झिल्को खबर । २८ कार्तिक २०८१, बुधबार १२:५०