पत्रकार सेजुवालको ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक

काठमाडौँ — नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालको अनुसन्धानमूलक पुस्तक ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक भएको छ । नेपाल पत्रकार महासंघको हलमा शनिबार भएको कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सो पुस्तक लोकार्पण गरे । सो क्रममा उपप्रधान एवम् रक्षामन्त्री खड्काले सञ्चार क्षेत्रले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्ने दायित्वलाई भुल्न नहुनेमा जोड दिए । राजनीतिक दलका नेताहरुले समेत मिडियामा लगानी गरेको प्रसंग उल्लेख गर्दै उनले आफूले कहिल्यैपनि त्यस्तो चासो नराखेको बताए ।

‘सञ्चार क्षेत्रले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्छ भन्ने लाग्छ । अहिले को नेताले कुन मिडियामा लगानी गरेको भन्ने कुराहरु आउँछन् । तर मेरो केही छैन । कलेन्द्रजीले त्यही मिडियाहरुले कसरी कमजोरी गरिरहेका छन् र त्यसको असर कस्तो हुन्छ भनेर यो पुस्तकमा उतार्नुभएकोमा बधाई ज्ञापन गर्दछु,’ उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।

कार्यक्रममा सांसद कान्तिका सेजुवालले ‘फल्स फ्रन्ट पेज’ समग्र सञ्चारमाध्यमको समीक्षात्मक प्रतिवेदनको रुपमा देखिएको बताइन् । सो पुस्तकले पत्रकारिता क्षेत्रमा देखिएका कमीकमजोरी सुधारेर उच्च व्यावसायिक अभ्यासका निम्ति मद्दत पुग्ने उनको विश्वास थियो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रको उच्च व्यावसायिक अभ्यासमा रहेका कमजोरीलाई सुधार्न पुस्तक उपयोगी हुने बताए । उनले देश र समाजको ऐनाका रुपमा रहेको पत्रकारिताको धारलाई बदल्दै सकारात्मक दृष्टिकोणबाट पेसागत इमान्दारिता निर्वाह गर्नु आजको आवश्यकता रहेको उल्लेख गरे

नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले पत्रकारिता क्षेत्रका कमीकमजोरीलाई पुस्तकमार्फत सूक्ष्म ढंगले उठान गरिएकाले पुस्तक पत्रकारिता क्षेत्रका विद्यार्थीका लागि उपयोगी सामग्री हुने विश्वास व्यक्त गरे । उनले समाजलाई सही ढङ्गले सुसूचित गर्न र समाजको दृष्टिकोण बदल्न सञ्चारमाध्यमले सत्यतथ्य सूचना सम्प्रेषण गर्न जरुरी भएको खाँचो औँल्याए ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता क्षेत्रका लागि पुस्तक निकै उपयोगी हुने धारणा राखे । महासंघकै पूर्वअध्यक्ष किशोर नेपालले ‘सोसल मिडिया’ का कारण आजको पत्रकारितामा चुनौती थपिएको, पत्रकार स्वयं कामप्रति सक्रिय नभएको भन्दै पत्रकारिताको व्यावसायिक मर्म र भावनालाई जीवित राख्न सबै जिम्मेबार भएर लाग्नुपर्नेमा जोड दिए । उनले सिजुवालको पुस्तक सबै पत्रकारका लागि उपयोगी हुने देखेको बताए ।

अर्का पूर्वअध्यक्ष सुरेश आचार्यले नेपाली पत्रकारितामा सच्चिन चाहनेका लागि पुस्तक प्रेरणादायी बन्ने विश्वास व्यक्त गरे । पत्रकार निर्मला शर्माले पत्रकारिताका आधारभूत सिद्धान्त र उच्च व्यावसायिक अभ्यासमा देखिएका कमजोरी सुधार्न तथा यस क्षेत्रका अध्येताका लागि पुस्तक उपयोगी बन्ने धारणा राखिन् ।

अढाई दशकदेखि पत्रकारितामा सक्रिय सेजुवालले पुस्तकमा नेपाली पत्रकारिताको अभ्यासका क्रममा मोफसलमा भएका पत्रपत्रिकाहरुले गरेका कमजोरीहरुलाई केलाएका छन् । मुलत: पुस्तकले अखबारका पहिलो पृष्ठमा हुने कमजोरीहरुलाई उठाएको छ ।

लेखक सेजुवालले पत्रकारिताको अभ्यासका क्रममा आफूले भोगेका, देखेका विषयवस्तुलाई सजीव ढङ्गले पुस्तकमा प्रस्तुत गर्ने प्रयास गरेको बताए ।

प्रेस फ्रिडम मिडिया प्रालिले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य पाँच सय रुपैयाँ छ । पुस्तक बिक्रीबापत भएको आम्दानीको ५० प्रतिशत रकम खोज पत्रकारितामा हौसला प्रदान गर्नका लागि प्रयोग गरिने लेखक सेजुवालले बताए । उनले प्रदेश पत्रकारिता पुरस्कार स्थापनाका लागि अक्षयकोष स्थापना गरिने समेत घोषणा गरे ।