
सुर्खेत । संगीतका माध्यमबाट नेपाली कला, संस्कृति र समाजमा निरन्तर योगदान दिइरहेकी जनवादी गायिका केशरी घर्ति मगरलाई “अरुण स्मृति संगीत पुरस्कार–२०८२“ बाट सम्मानित गरिएको छ। दिवंगत अमर संगीत स्रष्टा अरुण थापाको २६औं स्मृति दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा नेपाल मगर सांस्कृतिक संघको सिफारिसमा मगर विद्यार्थी संघद्वारा यो पुरस्कार प्रदान गरिएको हो।
पुरस्कार ग्रहण गरेपछि आफ्नो भावना व्यक्त गर्दै घर्ति मगरले भनिन्,“कहिले लड्दै, कहिले उठ्दै, दौडिँदै, पछारिँदै – जे जे भए पनि आफ्नो गन्तव्यतर्फ लम्किरहेकी यात्रु म। आजको दिन मेरो जीवनको एक अविस्मरणीय क्षण हो।“
उनको शब्दमा संघर्ष र समर्पणको गहिरो सन्देश सुनिन्थ्यो। संगीत यात्रालाई क्षितिजतर्फ धाउने यात्रासँग तुलना गर्दै उनले भनिन्,“लक्ष्य त क्षितिजजस्तै रहेछ — सधैं टाढा भाग्ने, तर आज तपाईंहरूले दिएको माया र सम्मानले एउटा चुरे पहाड पार गरेको अनुभूति गराइदिएको छ।”
उनले अमर स्रष्टा अरुण थापाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, पुरस्कार प्रदान गर्ने दुबै संस्था– मगर विद्यार्थी संघ र नेपाल मगर सांस्कृतिक संघप्रति गहिरो आभार व्यक्त गरिन्। साथै, कार्यक्रममार्फत सम्मानित अन्य प्रतिभाशाली सर्जक, कलाकार, विद्यार्थीहरूलाई पनि हार्दिक बधाई दिइन्।
केशरी घर्ति मगर लामो समयदेखि नेपाली जनवादी लोक, आधुनिक र सांस्कृतिक गीतमार्फत नेपाली संगीतमा विशिष्ट पहिचान बनाउँदै आएकी कलाकार हुन्। यो पुरस्कारले उनको सांगीतिक यात्रामा थप प्रेरणा र ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ।
झिल्को खबर । ७ श्रावण २०८२, मंगलवार १०:२१