

काठमाडौँ । इन्डियन आइडल विजेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा निधन भएको छ । ह्रदयघात भएर नयाँ दिल्लीको द्वारकास्थित एक अस्पतालमा पुर्याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।
’उहाँ दिल्लीमै हुनुहुन्थ्यो । आज बिहान उहाँको निधन भएको खबर पाएँ । उहाँको परिवार र नजिकका आफन्तबाट मैले यो खबर पाएको हुँ,’ फिल्मकर्मी राजेश घतानीले भने ।
अर्का गायक प्रमोद खरेलले पनि आइडलको मृत्यु भएको विषय सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् । ’दार्जलिङमा रहनु भएका हाम्रा सबै संगीतकर्मी साथिहरुले उहाँको मृत्युबारे भन्नु भएपछि मैले थाहा पाएँ,’ प्रमोदले लेखेका छन् ।
अरुणाचल प्रदेशमा कार्यक्रम सकेर राजधानी फर्किएलगत्तै उनको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
निधनअघि उनलाई कुनै गम्भीर स्वास्थ्य समस्या वा असहजता देखिएको थिएन । ४ जनवरी १९८३ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका तामाङले साधारण पृष्ठभूमिबाट राष्ट्रिय स्तरको ख्याति हासिल गरेका थिए ।
सानै उमेरमा पिता गुमाएपछि परिवारको जिम्मेवारी सम्हाल्न उनले कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा सेवा थालेका थिए र प्रहरी ब्याण्ड (अर्केस्ट्रा) मा गीत गाउँथे ।
सन् २००७ मा इन्डियन आइडल सिजन–३ मा अडिसन दिएपछि उनको जीवनले नयाँ मोड लियो । अन्ततः प्रतियोगिता जित्दै उनले भारतभरि तथा विदेशमा रहेका लाखौं दर्शक–श्रोताको मन जिते।

झिल्को खबर । २७ पुष २०८२, आईतवार १२:३५