
सुर्खेत । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेकपा (एमाले) ले कर्णालीबाट मिनासिं रखालसहित आठ उम्मेदवारको टुंगो लगाएको छ । १८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ८ जनाको नाम टुंगो लगाएको हो । एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशमा रेखा झा, बागमतीमा प्रेम दंगाल र गण्डकी प्रदेशमा सम्झना देवकोटालाई राष्ट्रिय सभा उम्मेदवार बनाउने भएको छ ।
यसैगरी एमालेले लुम्बिनीमा रामकुमारी झाँक्री र सुदूरपश्चिममा लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कर्णालीबाट रिक्त हुने दुई पदका लागि हुन लागेको निर्वाचनमा एमालेले महिला कलस्टरबाट मिनासिं रखाललाई उम्मेदवार बनाएको हो ।
नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको भागबण्डमा एमालेले महिला कलस्टर पाएको थियो । रखालले प्रदेश निर्वाचन आयोगको कार्यालय सुर्खेतमा मनोनयन दर्ता गर्ने तयारी गरेकी छन् ।
दैलेखकी रखाल २०७४ मा समानुपातिकतर्फ कर्णाली प्रदेशसभा सदस्य बनेकी थिइन् । उनी गएको मंसिरमा सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । अन्य एक पदका लागि नेकपा र कांग्रेसबीच सहमति जुटिनसकेको जनाइएको छ ।
कर्णालीमा कांग्रेसका १४ प्रदेश सांसद र ५९ पालिका प्रतिनिधि गरेर १ हजार ८६३ मतभार छ । तत्कालीन माओवादीको १३ प्रदेश सांसद तथा ४८ पालिका प्रतिनिधि गरेर १ हजार ६०० मतभार र तत्कालीन एकीकृत समाजवादीको एक प्रदेश सांसदको ५३ मतभार र १० पालिका प्रतिनिधि गरेर २४३ गरी नेकपाको १ हजार ८४४ मतभार छ ।
यस्तै, एमालेको १० प्रदेश सांसद र ३५ पालिका प्रतिनिधि गरेर १ हजार १९५ मतभार छ । राप्रपाको १ प्रदेश सांसदको ५३ र स्वतन्त्रको १ प्रदेश सांसद तथा ६ पालिका गरेर एक सय ६७ मतभार छ ।

झिल्को खबर । २३ पुष २०८२, बुधबार १२:३०