सुर्खेत चौकुने गाउँपालिकामा किशोरी आत्मरक्षा तालिम सञ्चालन

सुर्खेत । सुर्खेत चौकुने गाउँपालिका वडा नं. ६, ७ र ८ का कक्षा ८ देखि १२ सम्म अध्ययनरत किशोरी छात्राहरूका लागि किशोरी आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । चौकुने गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा उक्त तालिम २० पौष गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ ।

तालिममा श्री जीवन ज्योति माध्यमिक विद्यालय झकमके, श्री सिद्देश्वरी माध्यमिक विद्यालय सान्नेघारी तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भट्टेसराका गरी जम्मा ३० जना किशोरी छात्राहरू सहभागी रहेका छन् ।

गाउँपालिका अध्यक्ष खड्क वि.क.को अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर वि.क., शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टेकेन्द्र बहादुर बुढा, चौकुने गाउँपालिका खेलकुद विकास समिति उपाध्यक्ष विजय वि.क., महिला तथा बालबालिका शाखा प्रमुख मनिषा कुमारी कडेल तथा प्रशिक्षकहरू तेजु गुरुङ र सोना थापाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टेकेन्द्र बहादुर बुढाले नयाँ सुरुवातका रूपमा सञ्चालन गरिएको यस तालिमबाट सहभागी किशोरीहरूले आत्मरक्षा सम्बन्धी आवश्यक सीप सिकेर आफ्नो क्षमता विकास गर्न सक्ने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर वि.क.ले स्रोतसाधनको अभावका कारण हाल सबै वडामा तालिम सञ्चालन गर्न नसकिए पनि नमुनाका रूपमा गुटुबाट सुरु गरिएको बताए । उनले सहभागी छात्राहरूलाई अनुशासित भई प्रशिक्षकले प्रदान गर्ने ज्ञान तथा सीप आत्मसात गर्न आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गरे ।

गाउँपालिका अध्यक्ष खड्क वि.क.ले आत्मरक्षा सीप अप्ठेरो परिस्थितिमा अत्यन्त उपयोगी हुने उल्लेख गर्दै किशोरीहरूलाई तन–मन लगाएर अनुशासित ढंगले तालिम लिन आग्रह गर्दै उनले यस किसिमको तालिमले किशोरीहरूलाई शारीरिक मात्र नभई मानसिक रूपमा समेत सशक्त बनाउने विश्वास व्यक्त गरेका थिए ।