नवलपरासीमा फेरि सडक बन्दः डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

काठमाण्डौ । नारायणगढ–बुटवल सडकखण्ड फेरि बन्द भएको छ । हिजो बेलुकी एकतर्फी खुलेको सडक रातिदेखि दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । प्रहरीका अनुसार गएराति विनयी खोलामा बाढीले डाइभर्सनसँगै एउटा बस पनि बगाएको छ ।

काठमाण्डौबाट नेपालगञ्जको लागि छुटेको बस डाइभर्सनसँगै थोरै बगेको र यात्रुलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । दाउन्ने र दुम्कीबास क्षेत्रमा पानी पर्नेबित्तिकै सडक हिलो र चिप्लो भएर जाम र दुर्घटनाको जोखिम भएकोले वैकल्पिक रुटको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले आग्रह गरेको छ ।

पूर्वबाट पश्चिम जाने गाडी नारायणगढ–मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल हुँदै र काठमाण्डौबाट पश्चिम जाने गाडी मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल हुँदै जान प्रहरीको आग्रह छ । पश्चिमबाट पूर्व जाने गाडीले बुटवल–स्याङ्जा–पोखरा–मुग्लिन तथा साना गाडीले अवस्था बुझेर कालीगण्डकी करिडोर अन्तर्गत गैँडाकोट–पिपलडाँडा सडकको विकल्प प्रयोग गर्न सक्ने प्रहरीको भनाइ छ ।

यस्तै अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशीमा पहिरोका कारण ५ दिनअघि बन्द भएको सडक अझै खुलेको छैन । भेरी करिडोर अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरीमा पनि बाढीको कारण सडक अवरुद्ध भएको छ ।

ृयसैबिच पश्चिमका केही ठाउँमा रातिदेखि नै ठूलो पानी परेको छ । बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, दाङ, रोल्पा, बागलुङ, पाल्पा, म्याग्दी, नवलपरासी, कास्की, लमजुङ लगायतका ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ठूलो पानी परेपछि बाँके र बर्दियामा पर्ने बबई र कर्णाली तथा पाल्पा र बागलुङको नारायणी नदीमा बाढी आएको छ । बर्दियाको दौलतपुर, बर्गादही, राम्भापुर, रानीजरुवा र कुम्रा गाउँमा ठूलो पानी परेकाले ती क्षेत्रका मुख्य नदी लगायत ती क्षेत्र भई बहने खोलाहरूमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बाँके, गोरखा, लमजुङ्ग, कास्की, पर्वत, पाल्पा, बागलुङ्ग लगायत आसपासको क्षेत्रहरुमा मध्यमदेखि ठूलो पानी परेकाले त्यस क्षेत्रका नदी र खोला आसपासमा सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

महाशाखाका अनुसार आज दिउँसो पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्न सक्ने तथा कोशी र मधेस प्रदेशका तराईका भू–भागहरुका थोरै ठाउँहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ ।