

सुर्खेत । कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ३२ वटा पालिकामा बालविवाह अन्त्य गर्ने रणनीति तयार भइसकेको छ । प्रदेशमा देशकै उच्च दरमा बालविवाहका घटना देखिन थालेपछि बालविवाहविरुद्धको साझा सञ्जाल (क्याक्मा) को सहयोगमा ती पालिकाहरूमा रणनीति निर्माण गरिएको हो । पछिल्ला तीन वर्षको अवधिमा यी रणनीतिहरू तयार भएका हुन् ।
सञ्जालकी वकालत अधिकृत निकिता कठायतका अनुसार कर्णाली प्रदेशका एक सयभन्दा बढी सङ्घ–संस्था सञ्जालमा आबद्ध छन् र सञ्जालको मुख्य उद्देश्य बालविवाह अन्त्य गर्नु हो । उनले सञ्जालको सहयोगमा ३२ स्थानीय तहमा बालविवाह अन्त्यसम्बन्धी रणनीति तयार भइसकेको जानकारी दिनुभयो । साथै, सञ्जालको पहलमा कर्णाली प्रदेश सरकारले पनि प्रदेशस्तरीय बालविवाहविरुद्धको रणनीति निर्माण गरिसकेको उनले बताए । बाँकी पालिकाहरूमा समेत रणनीति तयार गर्ने काम निरन्तर भइरहेको उनको भनाइ छ ।
रणनीति तयार भएपछि स्थानीय तहलाई बालविवाहविरुद्ध कार्यक्रम सञ्चालन गर्न सहज हुने र यसले बालविवाहका घटनामा कमी ल्याउने अपेक्षा गरिएको छ । यही अवधिमा सञ्जालले २० वर्षमुनि बालविवाह गरेका १२० बालिकालाई अत्यावश्यक उद्धार तथा सहयोगसमेत गरेको जनाएको छ । बालविवाहका कारण सबैभन्दा बढी असर बालिकामा पर्ने र त्यसले उनीहरूको सामाजिक, शारीरिक, मानसिक तथा शैक्षिक जीवनमा गम्भीर क्षति पुर्याउने भएकाले रणनीति निर्माणलाई प्राथमिकता दिइएको कठायतले बताउनुभयो । सञ्जालका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, लेकबेँसी नगरपालिका, वराहताल गाउँपालिका, रुकुमको चौरजहारी नगरपालिका, डोल्पाको जगदुल्ला गाउँपालिकालगायतका स्थानीय तहमा बालविवाह अन्त्य रणनीति तयार भइसकेको छ ।

झिल्को खबर । २७ पुष २०८२, आईतवार १२:५१