जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको दीक्षान्त समारोह सुरु भएको छ । कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेसँगै समारोह सुरु भएको हो ।
आजै प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री ओलीले विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रम पनि छ । पहिलो पटक ५८ जना विद्यार्थी दीक्षित हुन योग्य भए पनि २७ जनाले मात्रै फारम भरेका छन् । यसअघि भदौ २३ गते तय गरिएको समारोह प्रधानमन्त्री ओली नआउने भएपछि स्थगित भएको थियो ।
बुधबार दीक्षान्त समारोहको कार्यक्रम सुरु भएको उपकुलपति डा. मंगल रावलले जानकारी दिए । उनका अनुसार समारोहमा कुलपति तथा प्रधानमन्त्री ओली, सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अञ्जनीकुमार झा, अमेरिकास्थित हाबर्ड मेडिकल कलेज सेन्टर अफ प्राइमरी केयर सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेंगर लगायत सहभागी छन् ।
शिक्षाध्यक्ष डबलबहादुर धामीका अनुसार स्नातकतर्फ बीपीएचमा ३८, एमबीबीएसमा १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरेर ५८ जना विद्यार्थी दीक्षित हुन योग्य छन् । दीक्षान्त समारोहअघि प्रधानमन्त्री ओलीले शैक्षिक भवनको उद्घाटन गरेका छन् ।
यसैबीच कर्णालीको विकास र समृद्धिका लागि भन्दै प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री ओलीलाई १० बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् ।
झिल्को खबर । २८ कार्तिक २०८१, बुधबार १३:४३