असार १४ र १५ गते ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसीप पहिलो पटक कर्णालीमा हुँदै

सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग र स्पोर्ट्स संघ नेपालको आयोजनामा ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसीप असार १४ र १५ गते पहिलो पटक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने भएको छ ।

आइतवार कर्णाली प्रदेश खेलकुद विकास परिषद र स्पोर्ट्स संघ नेपालबीच ई स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असार १४ र १५ गते सुर्खेतमा आयोजना गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले जानकारी दिए ।

स्पोर्ट्स संघका अध्यक्ष अन्जन धमलाका अनुसार ई स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिपमा पब्जी मोबाईल, मोबाईल लिजेण्ड्स र ई फुटबल गरी तीन विधाका खेललाई समावेश गरिएको छ ।
पब्जी मोबाईलको छनोट अनलाईनमार्फत हुने र अन्तिम १६ को फाइनल राउण्ड भौतिक रुपमा गरिने संघले जनाएको छ । मोबाईल लिजेण्डका सम्पूर्ण खेल अनलाईन र ई फुटबलको प्रारम्भिक छनोट अनलाईन र सेमिफाइनल र फाइनल प्रतिस्पर्धा भौतिक रुपमा सञ्चालन गरिनेछ ।

संघका अध्यक्ष अन्जन धमलाले नेपालमा बढ्दो लोकप्रियता, अन्तर्राष्ट्रिय सम्भावना र लगानीको प्रतिफलका हिसाबले तीन खेललाई प्राथमिकतामा राखेर राष्ट्रिय च्याम्पियनसिपमा समावेश गरिएको जानकारी दिए ।

प्रतियोगिताको प्राईज पुल १२ लाख रुपैयाँ रहेको छ । प्राईज पुलको ७० प्रतिशत पुरस्कार पब्जी मोबाईलमा, २० प्रतिशत पुरस्कार एमएलबीबी र १० प्रतिशत पुरस्कार ई फुटबलमा बाँडिने संघले जनाएको छ । तीन वटै खेल विधाका विजेताले आसन्न एसियन ई स्पोर्ट्स च्याम्पियनसिपको नेपाल छनोटको फाइनल चरणमा स्थान सुरक्षित गर्ने आयोजकले जानकारी दिएको छ ।

अनलाईन छनोट असार ४ देखि १० गतेसम्म र भौतिक रुपमा अन्तिम चरणका खेल असार १४ र १५ गते सुर्खेतमा हुनेछ । प्रतियोगितामा १६ वर्षमाथिका खेलाडीले मात्र सहभागीता जनाउन पाउनेछन् ।