

काठमाडौ । आईसीसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले बलियो टोली इंग्ल्यान्डसँग आइतबार खेल्दै छ ।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भइसकेका छन् र तीनवटै खेलमा एसोसियट टोलीले टेस्ट राष्ट्रलाई कडा टक्कर दिएका थिए ।
नेदरल्यान्ड्सले पाकिस्तान, स्कटल्यान्डले वेस्ट इन्डिज अनि अमेरिकाले भारतविरुद्ध राम्रो फाइट दिएका थिए । नेपाल पनि इंग्ल्यान्डजस्तो बलियो टोलीसँग खेल्दा केही न केही ‘स्पेशल’ गर्ने खोजीमा हुनेछ ।
हुन पनि इंग्ल्यान्ड एकाध खेलमा ‘सरप्राइजिङ’ हिसाबले नसोचेको टोलीसँग पराजित भइरहेको हुन्छ । नेपाली क्रिकेट टिमका पेस बलर सोमपाल कामीले विश्वकप खेल्न आउनुअघि इंग्ल्यान्डलाई नेपालले ‘अपसेट’ गर्न सक्ने समेत बताएका थिए ।
‘इंग्लयान्ड हरेक वल्र्डकपमा कुनै न कुनै सरप्राइजिङ टोलीसँग हारेको हुन्छ,यसपटक नेपाल नै हुन पनि सक्छ’ उनले भनेका थिए । आईसीसी वरियतामा तेस्रो स्थानमा रहेको इंग्ल्यान्डविरुद्ध खेल्दा नेपाल त्यही एउटा सरप्राइजको खोजीमा समेत हुनेछ ।
तेस्रोपटक विश्वकप खेल्न लागेको नेपाली टोली यसअघिका दुई विश्वकपमा समूह चरणबाट अगाडि बढ्न सकेको थिएन । यसपटक भने सुपर ८ पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।
त्यसका लागि नेपालले समूह चरणका चारमध्ये कम्तीमा २ खेल जित्नुपर्नेछ र इंग्ल्यान्डसँगकै खेलमा जित निकाल्न सके आगामी खेलका लागि नेपाली टोलीको मनोबल उच्च रहनेछ ।
हेड टु हेड
नेपाल र इंग्ल्यान्ड हालसम्म टी–२०आईमा खेलेका छैनन् । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको इंग्ल्यान्डसँग यो पहिलो भेट हुनेछ ।
इंग्ल्यान्डले विश्वकपअघि श्रीलंकासँगको टी–२०आई शृंखला जितेर आएको छ । नेपालले मुम्बईमै भएको अभ्यास खेलमा एमसीए प्रेसिडेन्टलाई हराएको थियो भने क्यानडा र यूएईसँगको वार्म अप खेल जितेको थियो ।
नेपाल टी–२० विश्वकपमा १२ वर्षपछि पहिलो जितको खोजीमा हुनेछ भने इंग्ल्यान्ड आफ्नो दबदबा कायमै राख्ने दाउमा हुनेछ ।
टिम कम्बिनेसन र सम्भावित ११
नेपालले अभ्यास खेलदेखि वार्म अप खेलसम्म आइपुग्दा विभिन्न कम्बिनेसनहरू प्रयोग गरिरहेको थियो । ब्याटिङमा दीपेन्द्रसिंह ऐरी केही माथि आएका छन् भने आरिफ शेखलाई पनि बढी मौका दिइएको छ ।
ओपनिङमा कुशल भुर्तेल र आसिफ शेख नै लगभग पक्का देखिएका छन् भने वान डाउनमा कप्तान रोहित पौडेल, २ डाउनमा उपकप्तान दीपेन्द्र अनि ३ डाउनमा आरिफ शेख खेल्न सक्छन् । यसपछि सन्दीप जोरा र गुल्शन झाले खेल्ने सम्भावना छ ।
वाङ्खडे मैदान पेस बलरलाई बढी फाइदाजनक हुने हुँदा करण केसी, सोमपाल कामी र नन्दन यादव तीनवटै पेसर खेल्न सक्छन् । त्यसो हुँदा स्पीजर सन्दीप लामिछाने मात्र खेल्ने छन् । मिस्ट्री स्पिनर शेर मल्ललाई पनि प्रशिक्षकले मौका दिएमा सन्दीप जोरा नखेल्न सक्छन् ।
इंग्ल्यान्डमा बाँयाहाते ब्याटर धेरै भएकाले ललितले सुरुवाती खेलमा मौका नपाउन सक्छन् ।
नेपालको सम्भावित ११ ः कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, शेर मल्ल
इंग्ल्यान्डले भने खेलका लागि शनिबार नै प्लेइङ ११ सार्वजनिक गरिसकेको छ । इंग्ल्यान्डले नेपालविरुद्ध बलियो प्लेइङ ११ मैदानमा उतार्दै छ ।
इंग्ल्यान्डको प्लेइङ ११ ः फिल साल्ट, जस बट्लर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रूक, विल ज्याक्स, साम करान, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर, लुक वूड

झिल्को खबर । २६ माघ २०८२, आईतवार ०७:२७