एमालेबाट विजयी ढोरपाटनका मेयर पुनः थुनामा राख्न आदेश

पोखरा । थुनामै रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि भएको छ ।

कास्की जिल्ला अदालतले पोखरामा रहेको इमेज सहकारी ठगी अभियोगमा उनलाई थुनामा राख्न आदेश दिएको हो ।

सोमबार जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले उनलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
उनी जिल्ला कारागार बागलुङमा थुनामा थिए । त्यहाँबाट झिकाएर जिल्ला अदालत पोखराले सोमबार उनीसँग बयान लिएको थियो । यसअघि बिहीबार जिल्ला अदालत कास्कीले पोखराकै सूर्यदर्शन सहकारी प्रकरणमा नेपालीलाई धरौटी माग गर्ने आदेश गरेको थियो ।

न्यायाधीश कृष्णजंग शाहको इजलासले बागलुङ कारागारमा रहेका मेयर नेपालीलाई २० लाख धरौटी माग गर्ने आदेश गरेको थियो । नेपालीलाई ईमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा जिल्ला अदालत बागलुङले २०८१ असोजमा थुनामा पठाउने आदेश दिएको थियो ।

नेपालीले बागलुङ र पोखरामा गरी २ वटा इमेज बचत तथा ऋण सहकारी संस्था खोलेका थिए । दुवै सहकारीमा गरी नेपाली नेतृत्वमा २ अर्ब अपचलन भएको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष रहेका नेपालीले उक्त सहकारीका तत्कालीन अध्यक्ष जिबी राइसँग विवाद भएपछि छाडेर इमेज सहकारी खोलेका थिए ।

ढोरपाटन नगरपालिकाका मेयर भएपछि पनि नेपाली दुवै ठाउँमा खुलेको इमेज सहकारीका अध्यक्ष थिए । सहकारीमा बचत राखेका सर्वसाधारणले आफ्नो बचत फिर्ता माग्न थालेपछि नेपाली १६ महिना फरार भएका थिए । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०८१ असोज ११ गते भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।