सन्दीप र अनिललाई बाहिर राख्दै २० खेलाडीलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइयो

फाइल फोटो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले २० जना खेलाडीलाई राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाएको छ ।

क्यानले शनिबार स्पिनर सन्दीप लामिछाने र ओपनर अनिलकुमार शाहलाई बाहिर राख्दै २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

२० खेलाडीको नामा सूची अनुसार किरण ठगुन्ना, दीपेन्द्र रावत, रुपेश सिंह र अर्जुन घर्ती पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पर्न सफल भएका छन् ।

क्यानका अनुसार सन्दीप हर्नियाको शल्यक्रियाका कारण पूर्ण रूपमा फिट नभएका र अनिल औलाको चोट पुनः बल्झिएका कारण राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पर्न नसकेका हुन् ।

नवनियुक्त अष्ट्रेलियन प्रशिक्षक स्टुअर्ट लको नेतृत्वमा नेपाली टोलीको बन्द प्रशिक्षण बुधबारदेखि रुपन्देहीको सिद्धार्थ क्रिकेट मैदानमा शुरु हुने क्यानले जनाएको छ ।

क्यानले बिहीबार स्टुअर्टलाई नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । नेपालले हङकङमा चार देशसम्मिलित टि–२० अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ । त्यसैको तयारीका लागि नेपाली टोलीको बन्द प्रशिक्षण हुन लागेको हो ।

अप्रिल ९ देखि १३ अप्रिलसम्म हुने शृंखलमा नेपाल र हङकङसहित कतार र कुवेत सहभागी हुनेछन् । नेपालले पहिलो खेल कतार, दोश्रो कुवेत र तेश्रो तथा अन्तिम खेल हङकङसँग खेल्नेछ । लिग चरणपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्।

बन्द प्रशिक्षणमा बोलाइएका २० खेलाडीः

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, किरण ठगुन्ना, लोकेश बम, बसिर अहमद, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, नन्दन यादव, रिजन ढकाल, गुल्शनकुमार झा, अर्जुन घर्ती, कुशल मल्ल, रुपेश सिंह, दीपेन्द्र रावत, शाहब आलम, विवेक यादव