सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा हुने भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले आगामी पौष ८ र ९ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा महासंघको केन्द्रीय साघारणसभा हुन लागेको बारे शनिवार जानकारी गराए ।
पत्रकार महासंघ सुर्खेत शाखाले आयोजना गरेको विजया दशमी, दीपावली, छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख वक्ताको रुपमा सहभागि भएका केन्द्रीय कोषाध्यक्ष सेजुवालले नगरकोट बैठकले आगामी महासंघको केन्द्रीय साधारणसभा सुर्खेतमा गर्ने निर्णय गरिसकेको बताए ।
‘अन्य प्रदेशहरुमा यो भन्दा अगाडी विभिन्न समयमा साधारणसभा र महासंघको केन्द्रीय स्तरको कार्यक्रम भइसकेकाले यो पटकको महासंघको केन्द्रीय साधारणसभा वीरेन्द्रनगर सुर्खेतमा गर्न लागिएको हो,’ ‘कोषाध्यक्ष सेजुवालले भने,’ ‘यसले कर्णाली प्रदेशको पर्यटनमा समेत टेवा पुग्ने छ ।’
सेजुवालका अनुसार देश भरीका करिब ६ सयको संख्यामा साधारण सभामा पत्रकारहरु सहभागि हुने छन् । महासंघले इतिहाँसमै पहिलो पटक कर्णालीमा साधारण सभा आयोजना गरेकोले यो कर्णालीको लागि गौरबको विषय भएको भन्दै उनले यो साधारणसभा सफल पार्नु पर्ने बताए
कार्यक्रमका लागि आर्थिक स्रोतको पहिचान, आगन्तुकहरुलाई आवास तथा सत्कार जस्ता मुख्य पक्षलाई ध्यान दिएर अगाडि बढ्नु पर्नेमा सेजुवालको जोड छ ।
२०१२ सालमा स्थापना भएको महासंघका कुनै पनि केन्द्रीय स्तरका कार्यक्रम कर्णालीमा हुन नसक्नु विडम्बना भएकोे भन्दै संघीयता कार्यान्वयन पश्चात प्राप्त मौकालाई अवसरका रुपमा लिनु पर्नेमा सेजुवाले जोड दिए ।
महासंघका केन्द्रिय सदस्य दिपेन्द्र शर्माले आर्थिक स्रोतहरुको खोजि गरिनु पर्नेमा जोड दिए ।
विगतका वर्षहरुमा संघ सरकारले महासंघलाई विभिन्न कार्यक्रममा आर्थिक रुपमा सहयोग गर्दै आएको र अब प्रदेश सरकार र स्थानीय सरकारसँग पनि सहकार्य गर्न सकिने बताए ।
यस्तै सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले कार्यक्रम सफल पार्न महासंघमा आवद्ध सबैको भुमिका महत्वपूर्ण हुने बताए । कार्यक्रम सफलताका लागि प्रचार–प्रसारमा जोड दिनु पर्ने बसेलको भनाई छ ।
कार्यक्रममा सहभागीहरुले कर्णालीको लागि यो ठुलो अबसर भएको भन्दै यो कार्यक्रम सफल पार्नको लागि सबैले आफ्नो आफ्नो ठाउँबाट लाग्नु पर्नेमा जोड दिएको थिए ।
झिल्को खबर । १५ आश्विन २०७९, शनिबार १९:१९