सुर्खेत । वीरेन्द्रनगर नगरपालिका कालिन्चोकमा निर्माण भइरहेको क्रिकेट र रग्वी खेलमैदान सिंचाइको लागि अब डिप बोरिङ्ग बन्ने भएको छ ।
जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्माको निर्देशनमा खानेपानी तथा उर्जा विकास निर्देशनालय सुर्खेतले विहिवार डिप बोरिङ्गको लागि जिओफिजिकल रिर्पोट संकलन गरेको हो ।
मन्त्रालयले आर्थिक बर्ष २०८०÷०८१ मा सुर्खेत वीरेन्द्रनगर नगरपालिका भित्र कालिन्चोक खेल मैदान लगायत अन्य १२ वटा डिप बोरिङ्ग राख्ने लक्ष्य लिएको खानेपानी तथा उर्जा विकास निर्देशनालयका सब ईन्जिनियर कासिराम ऐडीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा जिओफिजिकल रिर्पोट संकलन गर्ने र दोस्रो चरणमा लागत अनुमान मन्त्रालय मार्फत स्वीकृत हुने बित्तिकै चैतमा यसको काम सुरु हुने छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदले वीरेन्द्रनगर कालिन्चोक स्थित क्रिकेट र रग्वी खेलमैदान भित्रको दुबो हुर्काउन डिप बोरिङ्गको आवश्यकता पर्ने भन्दै मुख्यमन्त्री राजकुमार शर्मासँग केहि दिन अघि माग गरेको थियो । कर्णाली प्रदेश खेलकुद विकास परिषदको उक्त माग पश्चात मुख्यमन्त्री शर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रालयलाई तत्कालन अघि बढाउन निर्देशन दिएका थिए ।
अहिले रग्वी खेलमैदानको दुबो हरियाली बनाउन पानी बोकेर ल्याउनु परिरहेको छ । डिप बोरिङ्ग बने पश्चात क्रिकेट र रग्वी खेलमैदानको दुबो हरियाली बनाउन सजिलो हुने रग्वी संघ कर्णाली प्रदेशका अध्यक्ष सुरेन्द्र कुवँरले बताए ।
झिल्को खबर । ४ माघ २०८०, बिहीबार २१:२५