सुर्खेत । कालिकोट पचालझरना गाउँपालिकाका माओवादी जनयुद्वमा आफन्त गुमाएका परिवारहरुले माओवादी नेताहरुलाई शहिदको सपनालाई पुरा गर्न पार्टी राजनीतिमा इमानदार भएर लाग्न आग्रह गरेका छन् ।
नेकपा (माओवादी केन्द्र)पचालझरना गाउँपालिकाले आयोजना गरेको शहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा माओवादी जनयुद्वमा शहिद भएका आफन्तहरुले आफ्ना सन्तानहरुले ज्यान दिएर ल्याएको यो व्यवस्थाको रक्षा गर्न माओवादी नेतृत्वलाई सम्झाएका हुन् ।
उक्त कार्यक्रममा शहिद परिवारको तर्फबाट बोल्दै शहिद भरत सेजुवाल‘भिमसेन’का बुवा धुव्र सेजुवालले जनयुद्ध लड्न गएका आफ्ना छोराहरुलाई बीच बाटोबाट कायर भएर घर नफर्किनु है बाबु ! भनेर आफुले आफ्नो सन्तानलाई जनयुद्धमा पठाएको भन्दै शहिदका सपना पुरा गर्न माओवादी नेतृत्वलाई आग्रह गरे ।
‘दश बर्षको जनयुद्धमा हाम्रा छोराहरु शहिद भए कैयौ घाइते भए । कैयौ अपाङ्ग भए यो सबै हाम्रो घर बनाउन र हामिलाई धनि बनाउनलाई होइन,’शहिद भिमसेनका बुवा धुव्र सेजुवालले भने,‘दश बर्षको जनयुद्धका सपनाहरु माथि कुटराघात गर्नेहरुका विरुद्ध हाम्रो सन्तानले लडेका हुन् ।’
हिजोका दिनमा महिला, दलित, पिछडिएको क्षेत्र बर्ग सबै अधिकार बहिन थिए आज जनयुद्वका कारण सबैले अधिकार पाएको भन्दै सेजुवालले भने,’ ‘आफ्नो अधिकार आफै प्रयोग गर्न पाउने व्यवस्था जनयुद्वले ल्याएको हो ।’
माओवादी जनयुद्वको बेला कालिकोट पचालझरना गाउँपालिका माओवादी आधार इलाकाको रुपमा घोषणा भएको क्षेत्र हो । आज भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं संघीय सरकारका पूर्व मन्त्री तथा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पचालझरना गाउँपालिका शहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेका थिए भने उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका कालिकोट जिल्ला इन्चार्ज जीवन बुढा,कालिकोट संयोजक डम्बर बहादुर शाही लगायतको उपस्थिति रहेको थियो ।
विवशकुमार सेजुवाल । १९ फाल्गुन २०८१, सोमबार २०:०३