यो भारी देख्यौ !
हजारौ यस्ता भारी बोकेकी छु जीवनमा मैले
तर यस्ता ठुला साना भारीहरु कहिल्यै भारी लागेनन् मलाई ! !
यो उकालो हेर न ! देख्यौ ?
पल्ट पल्ट चढेकि छु यस्को छातीमा मैले
यो पहाडको छाती जती पटक चढ्दा पनि मेरो छाती कहिलै थाकेन !
अब रहस्य सुन मेरो ‘अथकान’ यात्राको !
सुन्छौ ?
मैले बिरामी छिमेकी बोकेर बाढी बोकेको सयौ नदी तरेकी छु
गाउँका भोका नानीहरुलाई चुलोको अन्तिम गास बाँडेकी छु
थाह हुँदा पनि फिर्ता नहुने नुन, चिनी र पैसो पैंचो दिएकी छु
प्रथाना गरेकी छु अपवित्र आत्माहरुलाई पनि ‘स्वर्गमा बास होस् भनी
हो त्यसैले ! !
मेरो जिन्दगीको वजन, उमेरको भारी र मनको तौल बहुत हलुका भएका छन ।
भित्रैबाट हलुका बनेको मान्छे बाहिरी भारीले कसरी थाक्छ र ?
अन्त्यमा एउटा अर्थी दिन्छु
लिन्छौ ?
धनी हुने रहरले भ्रष्ट हुनेको शहरसम्म पुर्याउला
तर तिमी, उमेरको तौल बढ्दै जादा मन को भारी हलुका बनाउदै जानु ।
‘बेद’ होइन ‘बेदनाको’ पढाई गर्नु
आफु आफ्नो मालिक हुने मान्छे नै वास्तविक स्वतन्त्र हो
अनी हो, उसले मात्र दुनियाँमा हाँस्दै मर्न पाउछ !
त्यसैले
म जस्तै हलुका हुनु
हाँस्दै मर्न पाउने कर्म गर्नु ।।
डा. नवराज केसी । १८ असार २०७९, शनिबार २१:२८