कान्ति बाल अस्पतालमा १६ शय्याको बाल मनोरोग अन्तरंग कक्ष सञ्चालन

कान्ति बाल अस्पतालमा १६ शय्याको बाल मनोरोग अन्तरंग कक्ष सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उक्त कक्षको बुधबार उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा मन्त्री पौडेलले कान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने घोषणा पनि गरे । अस्पताल निरीक्षणपश्चात् मन्त्री पौडेलले सफाइ र सेवाको प्रभावकारिता बढाउन अस्पताल प्रशासनलाई आग्रह पनि गरे । उनले भने, ‘यहाँ आइसकेपछि सेवाग्राहीले बेवास्ता भएको महसुस नगरून् । सीमित स्रोत–साधनमा भइरहेको काम प्रशंसनीय छ, यद्यपि, तपाईंहरूको अझैँ धेरै सक्रियता राज्य र जनताले खोजेका छन् ।’

आफू यसै क्षेत्रको सांसदका रूपमा प्रतिनिधित्व गर्ने भएकाले पनि कान्ति अस्पतालसँग र यहाँका समस्यासँग जानकार रहेको मन्त्री पौडेलले बताए । ‘अस्पतालमा भिड कसरी घटाउन सकिन्छ भन्नेतर्फ सबैले सोच्न जरुरी छ । यसका लागि हामीले डिजिटल रूपमा सेवा सुरु गरेका छौैँ, यसको प्रयोग सुरुवाती दिनमा कम देखिए पनि बिस्तारै बढ्छ । कुनै व्यक्ति उपचार गराउन आउँदा सोही दिन उसले सेवा–सुविधा पाउनुपर्छ, यसलाई सम्भव गर्न यहाँका चिकित्सकसँगै सम्पूर्ण अस्पताल परिवारको सहयोग र सहकार्य चाहिन्छ,’ उनले भने । मन्त्री पौडेलले चिकित्सकले यसलाई पेसासँगै सामाजिक दायित्वका रूपमा लिनुपर्नेमा जोड दिए । फरक प्रसंगमा उनले वीर अस्पतालसरह यहाँका चिकित्सक र कर्मचारीले सेवा सुविधा नपाएको सुनिएकाले त्यसमा सक्दो समानता ल्याउने बताए । सो अवसरमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले गत वर्षको तुलनामा यस वर्ष अस्पतालमा १० प्रतिशतभन्दा बढी बजेट विनियोजन भएको बताए । उनले भने, ‘यो अस्पतालप्रति आममानिसको विश्वास छ । यसलाई अझैँ बृहत् बनाउन हामी तत्पर छौँ ।’

अस्पतालका निर्देशक डा. पंकज रायले एक हजार शय्याको अस्पताल बनाउन मन्त्रालयको सहयोग आवश्यक रहेको बताए । उनले भने, ‘हामीकहाँ भएको जनशक्ति पर्याप्त नभए पनि सेवालाई थप सहज र प्रभावकारी बनाउन मिहिनेत गरिरहेका छौँ । हाम्रो वार्षिक र बहुवर्षीय योजनालाई मन्त्रालयले अगाडि बढाउन मद्दत गरिरहेको छ, यसले आगामी दिनमा थप सुविधा दिन सहयोग पुग्छ ।’ अस्पताल सञ्चालक समितिका अध्यक्ष बाबुराम गौतमले यसै क्षेत्रका प्रतिनिधिसभा सदस्य मन्त्री बनेकाले अस्पतालको स्तर बढ्नेमा कुनै द्विविधा नरहेको बताए । कान्ति बाल अस्पतालमा कुल ३२५ शय्या छन् । यहाँ ८२ जना चिकित्सक कार्यरत छन् भने कुल कर्मचारी ६५० जना छन् ।