नेपालगन्ज १० नाइट रनकाे टिसर्ट सार्वजनिक

नेपालगन्ज । दशाैं धारा नेपालगन्ज म्याराथनकाे प्रिइभेन्टका रुपमा हुन लागेको नेपालगन्ज १० किमि नाइट रनकाे टिसर्ट सार्वजनिक गरिएको छ ।

संविधान दिवसका अवसरमा असाेज ३ गते राति हुने दाैडकाे टिसर्ट नेपालगन्ज म्याराथनका संस्थापक निर्देशक टीएस ठकुरी, आटरिच म्यानेजर चाहना शाह, लुम्बिनी खेलकुद परिषदका सदस्य डिबी तामाङ, बाँके जिल्ला एथलेटिक्स संघका अध्यक्ष राजेन्द्र शाही र नेपालगन्ज म्याराथनका आइटी कन्सल्ट्यान्ट भानु रेग्मीले संयुक्तरूपमा सार्वजनिक गरे ।

टिसर्ट सार्वजनिक कार्यक्रममा संस्थापक निर्देशक टीएस ठकुरीले नेपालगन्ज म्याराथनकाे एक दशक यात्राको लागि ‘दशाैंमा दस इभेन्ट’का बारेमा विस्तृत जानकारी दिए । असाेज ३ गते नाइट रन सम्पन्न भएपछि ५ गते शनिबारदेखि साप्ताहिक रन सुरु हुने उनलेे बताए । ‘याे बर्षभरि सञ्चालन हुनेछ । ‘उनलेे भने-‘दस हप्तामा चार, २५ हप्तामा तीन जना, ५० हप्तामा दुई जना र ७५ हप्तामा एक एक जना पुरस्कृत गरिनेछ, एक सय हप्ता पूरा गर्ने एक जनालाई कुनै अन्तर्राष्ट्रिय म्याराथनमा अवसर प्रदान गरिनेछ । पहिलो चरणमा नेपालगन्ज, काेहलपुर र खजुरामा साप्ताहिक रन सुरु गरिनेछ ।

रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङले यसकाे प्रमुख कमान्ड सम्हाल्नेछन् । बाँके जिल्ला एथलेटिक्स संघले यसमा सहकार्य गर्नेछ । म्याराथनका बरिस्ठ सदस्यहरु हृदयकृष्ण मास्के, चन्द्रबहादुर राना, सुनिल बिष्ट, सुमन बस्नेत, गगन थापाले साप्ताहिक रनमा भाेलन्टियर सेवा प्रदान गर्नेछन् ।
असाेज दाेस्राे हप्तादेखि स्कुल कलेजमा लेक्चर सिरिज सञ्चालन गरिनेछ । आउटरिच म्यानेजर चाहना शाहले यसकाे नेतृत्व गर्नेछिन् । त्यसैगरी कात्तिक पहिलो हप्ता हुने गाैघाट ग्रिन रनकाे संयाेजन डिबी तामाङले गर्नेछन् । मंसिर ५ गते हुने दीप प्रज्वलन कार्यक्रमकाे संयाेजन सुमनसिंह बस्नेतले गर्ने जानकारी दिइयाे । त्यस्तै फाेटाे प्रदर्शनीका लागि पहिलोदेखि नवाैं संस्करणसम्मका उत्कृष्ट तस्बिर संकलनका लागि गगन थापालाई जिम्मेवारी दिइएको छ । त्यस्तै मंसिर २० र २१ गते म्याराथन एक्स्पाे र नेपालगन्ज कनक्लेव हुनेछ । यसमा विभिन्न व्यक्ति तथा संघसंस्थालाई दशक रत्न सम्मान प्रदान गरिनेछ । दशाैं कार्यक्रमका रुपमा दशाैं धारा नेपालगन्ज म्याराथन मंसिर २२ गते शनिबार हुने पत्रकार भेटमा जानकारी गराइयाे ।

विस्तृत शान्ति सम्झौता भएको दिन मंसिर ५ लाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यश बर्ष कर्णालीमा हुने दशाैं राष्ट्रिय खेलकुदका कारण केही पछाडि सारिएको आयाेजकले जनाएको छ ।