युवा सजकता अभियान कालिकोटका अध्यक्ष शाही माओवादी केन्द्रमा प्रवेश

सुर्खेत, नेपाली काँग्रेस निकट युवा सजकता अभियान कालिकोटका अध्यक्ष हिक्मत शाही र अर्जुन शाही नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

शाहीलाई नेकपा (माओवादी केन्द्र)का पोलिट व्यूरो सदस्य एवं कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका हुन् ।

माओवादी जनयुद्ध काल देखि माओवादीको आधार इलकाको रुपमा चिनिएको कालिकोट पचाल झरना गाउँपालिकामा ९ वडा मध्य एक वडा काँग्रेसले जित्दै आएको थियो त्यहि काँग्रेसको गड मानिएको पचाल झरना गाउँपालिका वडा नं. ५ का स्थायी बासिन्दा शाही काँग्रेसबाट माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

प्रवेश कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का युवा नेता एवं पचालझरना गाउँपालिका पूर्व अध्यक्ष खड्गराज सेजुवालले अब काँग्रेसको गड मानिएको वडा भत्किनेमा आफु विश्वस्थ रहेको बताए । उनले आज माओवादी केन्द्रमा प्रवेशको सुरुवात मात्रै भएको भन्दै यो भन्दा पछि पनि थुप्रै युवाहरु माओवादीमा आउनको लागि तयार रहेको जनाकारी दिए ।

माओवादी केन्द्रमा प्रवेश गरेका युवा सजकता अभियान कालिकोटका अध्यक्ष हिक्मत शाहीले आफु माओवादीमा आउनुमा कुनै स्वास्र्थ नरहेको बताए उनले स्थानीय निर्वाचनको बेला पनि आफुले माओवादीलाई मतदान गरेको भन्दै अब गाउँ देखि सहर सम्म माओवादीको नेतृत्वको राजनिति शक्तिले मात्रै परिवर्तन गर्न सक्ने भएकोले आफु माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।