हङकङमा आयोजित १०० किलोमिटरको ‘अल्ट्रा रेस’मा नेपालकी सुनमाया च्याम्पियन

सुर्खेत । हङकङमा आयोजित एकसय किलोमिटरको ‘अल्ट्रा रेस’ प्रतियोगिता नेपालकी अल्ट्रा धावक सुनमाया बुढा च्याम्पियन बनेकी छिन् । ९ तारिकमा भएको उक्त रेसमा सुनमायाले सयौँ प्रतिस्पर्धीलाई पछि पार्दै कीर्तिमानी बनाएकी हुन् । ‘द नर्थफेस हन्ड्रेड अल्ट्रा ट्रेल’ च्यालेञ्जिङले आयोजना गरेको उक्त प्रतियोगितामा ३०० भन्दा बढी अल्ट्रा धावकहरु सहभागी भएका थिए ।

रातको समयमा भएपनि सुनमायाले उक्त प्रतियोगितामा प्रथम स्थान ओगट्न सफल भइन् । द नर्थ फेस टिम एपिएबाट प्रतियोगितामा भाग लिएकी सुनमायाले १४ घण्टा ४० मिनेटमा उक्त रेस पुरा गरेकी हुन् । राति १० बजेबाट दौड सुरु गरेकी उनले बिहान ११ बजेतिर उक्त दौड पुरा गरेकी थिइन् ।

दोस्रो र तेस्रो स्थान चाइनिज अल्ट्रा धावकहरुले जितेका छन् । सुनमाया रातको समयमा ८ किलोमिटरको दुरी बिचमा हराएकी थिइन् । यद्यपि उनले त्योसहित जोडेर १०८ किलोमिटरको दौड पुरा गरिन् । यदि बिचमा बाटो नबिराएको भए उनले अझै पहिला नै दौड पार गर्न सक्थिन् । जुम्लामा जन्मिएकी सुनमायाले यसअघि ०७८ मा थाइल्याण्डमा आयोजित ‘अल्ट्रा ट्रेल’ रनिङ प्रतियोगितामा महिलातर्फ प्रथम भएर कीर्तिमान बनाएकी थिइन् । त्योबेला उनले ११० किलोमिटरको दूरी १४ घण्टा ५४ मिनेट एक सेकेण्डमा पूरा गरेकी थिइन् ।