नेपालगन्ज विमानस्थलमा श्रीको जहाज आपतकालीन अवतरण

सुर्खेत — ७९ यात्रु बोकेर काठमाडौंका लागि उडेको श्री एयरलायन्सको जहाज पुनः नेपालगन्ज नै फर्किएर आमतकालीन अवतरण भएको छ ।

नेपालगन्ज विमानस्थल प्रमुख सुरेश खनालका अनुसार, विहान ९ बजेर ४९ मिनेटमा काठमाडौंका लागि उडेको श्रीको बमबार्डियर ड्यास क्यू ४०० विमानको शौचालयभित्र धुवाँ निस्किएको संकेत ककपिटमा रहेको उपकरणमा देखिएपछि चालक दलले उक्त विमानलाई ६ मिनेटमै नेपालगन्ज विमानस्थलमा फर्काएका थिए ।

‘पाइलटले ल्याबोटरीमा धुवाँ निस्किएको संकेत देखिएपछि ५ माइल करिब ९ किलोमिटर बाटै जहाज फर्काए,’ विमानस्थल प्रमुख खनालले भने, ‘जहाज अवतरण भइसकेपछि हामीले पनि धुवाँ निस्किएको देख्यौं । इन्जिन बन्द गरेपछि धुवाँ पनि रोकियो ।’

उनका अनुसार उक्त विमानका सबै यात्रुलाई विमानस्थलमा राखिएको छ । श्रीले अर्को विमान पठाउने वा नपठाउनेबारे नेपालगन्ज विमानस्थललाई कुनै जानकारी गराइनसकेको खनालले बताए । श्रीसँग बमबार्डियर ४ र सीआरजे ४ गरी ८ वटा जहाज छन् ।