प्रदेश अस्पताल सुर्खेतमा क्यान्सर रोगको स्क्रीनिङ्ग तथा उपचार सेवा शुरु

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा आइतवार देखि क्यान्सर रोगको स्क्रीनिङ्ग तथा उपचार सेवा शुरु भएको छ ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका उप–निर्देशक न्यूरोलोजिष्ट डा. उमेश नेपाल सहितको टिमले आइतवार विहान प्रदेश अस्पताल सुर्खेतमा पूर्व सहमति अनुसार पहिलो पटक क्यान्सर रोगको स्क्रीनिङ्ग तथा उपचार सेवा शुरु गरेको हो ।

सात वटै प्रदेशमा क्सान्सरको उपचार केन्द्र स्थापना गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निति अनुसार वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनको समन्वयमा आज प्रदेश अस्पताल सुर्खेतमा यो सेवा शुरु गरिएको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उप–निर्देशक डा.उमेश नेपालले जानकारी दिए ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव दीर्घ बहादुर पोखरेलले आइतवार विहान सेवाको शुभारम्भ गरेका थिए । सेवा शुभारम्भ पश्चात प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काले अब देखि प्रदेश अस्पताल सुर्खेतमा क्यान्सर रोगको स्क्रीनिङ्ग तथा उपचार सेवा नियामित हुँने बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रदेश अस्पताल सुर्खेतको लागि प्राविधिक जनशक्ति माग गरिसकिएकाले मन्त्रालयले उक्त मागको सम्बोधन गर्नेमा आफु विश्वस्थ रहेको बताए ।

‘हामिले यो सेवा पहिले नै शुरु गर्ने सोचेका थियौ अस्पतालमा नर्मल क्यान्सर रोगको स्क्रीनिङ्गका कामहरु भए पनि थप उपचार सेवा शुरु हुँन बाँकी थियो । पछिल्लो समय संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रदेशमा एक क्यान्सर रोगको स्क्रीनिङ्ग तथा उपचार सेवा शुरु गर्ने निति ल्याए पश्चात त्यसमा पनि कर्णालीमा प्रदेश अस्पताललाई यो सेवा प्रवाहा गर्ने मन्त्रालयले स्वीकृत दिएको हुनाले संघीय सरकारलाई धन्यवाद दिन चाहान्छु, ‘प्रा.डा.खड्काले भने,’ ‘अब संघीय सरकारले सेवा विस्तार गरेर मात्र भएन यसको लागि चाहिने दक्ष प्राविधिक जनशक्ति उपलब्ध गराउनु पर्ने हुन्छ त्यसको लागि हामीले अस्पतालको तर्फबाट माग गरिसकेका छौ ।’

यता वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका उप–निर्देशक न्यूरोलोजिष्ट डा. उमेश नेपालले भने अब प्रदेश अस्पताल सुर्खेतमा महिनाको एक पटक वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको समन्वयमा क्यान्सर रोगको स्क्रीनिङ्ग तथा उपचार हुँने बताए । ‘संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरलाई तीन वटा प्रदेश गण्डकी,सुदूरपश्चिम र कर्णाली प्रदेशमा क्यान्सर रोगको स्क्रीनिङ्ग तथा उपचार सेवा गर्ने जिम्मेवारी दिएको हुँनाले प्रत्येक प्रदेशमा महिनाको एक पटक सेवा दिन सकिन्छ, ‘उप–निर्देशक डा. नेपालले भने,’ ‘तर सम्बन्धित अस्पतालले वा प्रदेशले तालिम लिन चाहेको खण्डमा हामि तालिम दिएर प्राविधिक जनशक्ति उत्पादनमा सहयोग गर्छौ ।’

क्यान्सर रोगको स्क्रीनिङ्ग तथा उपचार सेवा विस्तारको मुख्य उदेश्य भनेको यहाँ उपचार हुँन सक्ने विरामीहरुलाई यता उपचार गर्ने यता उपचार हुँन नसक्ने विरामीहरुलाई वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा रिफर गरेर उनिहरुको छिटो छरितो माध्यमबाट उपचार गरिने समेत उनको भनाई छ ।

प्रदेश अस्पताल सुर्खेत र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनबीच एक महिना अघि क्यान्सर रोगको स्क्रीनिङ्ग तथा उपचार सेवा विस्तारको लागि सम्झौतामा भएको थियो । सोहि सम्झौता अनुसार आइतवार विहान सेवाको शुभारम्भ गरिएको हो ।