
राष्ट्रपति ट्रम्पको कठोर कर नीतिका कारण बजार सुस्त हुनेभन्दै विभिन्न देशले यसबारे वार्ता गर्न चाहेको ह्वाइट हाउसले जनाएको छ । तर आफ्ना नीतिहरू कहिल्यै परिवर्तन नहुने भन्दै भन्सार शुल्क अझै बढाउँदै जानेतर्फ ट्रम्प अडिग रहनुभएको बीबीसीले जनाएको छ ।
ह्वाइट हाउस राष्ट्रिय आर्थिक परिषद्का प्रमुख केभिन ह्यासेटले पहिलेभन्दा केही मूल्य बढे पनि भन्सार शुल्कले ठूलो मूल्य वृद्धि नगर्ने कुरामा जोड दिनुभएको छ । केही देशले प्रतिरोध स्वरुप करको बदला कर नीति अवलम्ब गरेकामा पनि ट्रम्प प्रशासनले चेतावनी दिँदै आएको छ ।
अमेरिकामा उत्पादनहरू बेच्ने विश्वभरका देशहरूले अमेरिकालाई ठगिरहेका आरोप लगाउँदै ट्रम्पले लामो समयदेखिको यो गलत अभ्यास सुधार्ने माध्यमका रूपमा भन्सार शुल्कलाई हेरिएको दाबी गर्नुभएको छ । तर धेरै अर्थशास्त्रीले भन्सार शुल्क वृद्धिको असरका रुपमा उपभोक्ताहरूले पनि मूल्य वृद्धिको सामना गर्नुपर्ने बताइरहेका छन् । यस्तै व्यापार र उत्पादनसम्बन्धी अनिश्चितताले विश्व बजारहरूमा अन्योलता छाएको छ ।
झिल्को खबर । २५ चैत्र २०८१, सोमबार ०७:५८