सुर्खेत । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्न मन्त्रालय नपन्छिएको तर अर्थ मन्त्रालयले छुट्याएको ६० करोड बजेटमा २५ प्रतिशत कटौती गर्दा समस्या उत्पन्न भएको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री चौधरीले बजेट कटौतीले आयोजनाको सुनिश्चिततामा असर परेको र खर्च व्यवस्थापनमा चुनौती थपिएको स्वीकार गरे। उनले बजेट खर्च गरेर उपलब्धि नहुने अवस्था रोक्न खोज्दा आयोजनामा ढिलाइ भएको दाबी गरे।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले बजेट कटौती र प्राविधिक कारणले आयोजनामा अलमल देखिएको बताए।
अर्थ मन्त्रालयले रोक्का राखेको २५ प्रतिशत बजेट फुकुवाका लागि चैत १७ मा मन्त्रालयमार्फत पत्राचार गरिएको र अर्थले फुकुवा गर्ने आश्वासन दिएको उनले जानकारी दिए।
घिसिङले जेठ ३ देखि १० सम्म कर्णाली प्रदेशमा आयोजना गर्ने गरी तयारी तीव्र पारिएको, मस्कट र लोगो सार्वजनिक भइसकेको तथा कर्णाली प्रदेशमा सचिवालय स्थापना भएको बताए।
मन्त्री चौधरीले बजेट अभावमा तयारी प्रभावित भए पनि अब प्रक्रिया अगाडि बढ्ने जनाए। घिसिङले सार्वजनिक खरिद ऐनअनुसार चैतमा आयोजना सम्भव नभएको र फागुन ८ को अर्थको रायअनुसार खर्चको शीर्षक र बोर्डको निर्णयपछि काम तीव्र भएको उल्लेख गरे।
कर्णाली सरकारले पूर्वाधार निर्माण गरे पनि भुक्तानीका लागि केन्द्रसँग बजेट माग गरेको र प्रक्रिया अगाडि बढाइएको उनले सुनाए।
चैत १२ मा मन्त्री चौधरीको अध्यक्षतामा बसेको बैठकले तयारी तीव्र पार्ने निर्णय गरेको थियो। विभागीय टोली र प्रदेश छनोटको काम पनि चलिरहेको छ।
झिल्को खबर । २५ चैत्र २०८१, सोमबार ११:०९