सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याएको मध्य खेल क्षेत्रका लागी छुट्याइएको बजेट यस्तो रहेको छ ।
काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको निर्माण कार्य आगामी आर्थिक वर्ष सम्पन्न गर्ने घोषणा गरेको छ। कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा रात्रिकालीन खेल खेल्न सकिने गरी स्तरोन्नति गर्न आवश्यक रकम विनियोजन गरिएको छ।
प्रदेश र स्थानीय तहसँगको सहकार्यमा चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट स्टेडियमको अधुरो निर्माण कार्य पूरा गर्ने व्यवस्था मिलाइएको बजेटमा उल्लेख छ। नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक रकम विनियोजन गरिएको र दसौं राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार तयार गरिने पनि बजेटमा उल्लेख छ।
खेलकुद पर्यटन प्रवर्द्धनका लागि सार्वजनिक निजी साझेदारीमा साहसिक तथा पर्वतीय खेलकुदका पूर्वाधार निर्माण तथा सञ्चालन गर्न प्रोत्साहित गरिनेछ। जुम्ला जिल्लाको टोप्ला पाटन लगायत स्थानमा हाई अल्टिच्यूड स्पोर्ट्स एन्ड ट्रेनिङ सेन्टर स्थापना गर्न पनि रकम विनियोजन गरिएको छ।
एक स्थानीय तहस् एक खेलग्राम कार्यक्रमलाई बजेटले निरन्तरता दिएको छ। बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी तथा रंगशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ। धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला तथा खेलग्राम निर्माण गरिनेछ। खेल पूर्वाधारतर्फ ८७ करोड विनियोजन गरिएको छ।
त्यस्तै खेलकुद विकासको २० वर्षे गुरूयोजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ। निजी क्षेत्रलाई खेल विश्वविद्यालय खोल्न प्रोत्साहन गरिनेछ। विदेशी क्लबहरूलाई नेपालमा फ्रेञ्चाइज लिग आयोजना गर्न अनुकूल वातावरण निर्माण गरिनेछ।
। १६ जेष्ठ २०७९, सोमबार १०:२६