नेपाल बार एसोसिएसनको मतगणना सोमबारबाट सुरु हुने भएको छ । शनिबार दिउँसो ४ बजेसम्म मतदान भएकोमा देशभरको मतगणना भने काठमाडौंमा हुने भएकाले मतपेटिका सोमबार दिउँसोसम्म आइसक्ने बारको निर्वाचन समितिले जनाएको छ ।
देशभरका कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको चुनावका लागि ३५ वटा मतदान केन्द्र तोकिएको थियो । यसमध्ये ३० वटा मतदान केन्द्रका मतपेटिका संकलन भइसकेको र बाँकी आउने क्रममा रहेको निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाले बताए । ‘बाहिरबाट आउनुपर्नेहरूमा ती मतपेटिका सम्भवतः सोमबार मध्याह्नसम्म आइपुग्नेछन् । त्यसपछि गणना सुरु गर्न सकिन्छ कि,’ सिटौलाले भने । उनका अनुसार तयारी यसैअनुसार गरिएको छ । बारको निर्वाचनका लागि देशभर नौ हजार ९९७ मतदाता थिए । तर, सात हजार ९९५ मत खसेको सिटौलाले बताए ।
बारका अध्यक्षका लागि प्यानल बनाई दुई वरिष्ठ अधिवक्ता प्रतिस्पर्धामा छन् । अध्यक्ष पदमा अन्य तीन अधिवक्ताले पनि उम्मेदवारी दिएका थिए । सत्तापक्षमा रहेका कांग्रेसनिकट डिएलए र नेकपा एमालेनिकट पिपिएलएले गठनबन्धन गरेका थिए । जसबाट डा. विजय मिश्र अध्यक्षमा र केदार प्रसाद कोइरालाले महासचिवमा दाबी गरेका थिए ।
यसैगरी, हाल प्रतिपक्षमा रहेका माओवादी, राप्रपा, रास्वपानिकट मानिएका कानुन व्यवसायीले अर्को प्यानल बनाई उम्मेदवारी दिएका थिए । सत्ताइतर प्यानलको नेतृत्व वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले गरेकोमा उनको प्यानलबाट महासचिवका लागि यज्ञमणि न्यौपानेले उम्मेदवारी दिएका छन् ।
झिल्को खबर । २५ चैत्र २०८१, सोमबार १०:४९