सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले चैत २६ गते वीरेन्द्रनगरमा जनजागरण सभा गर्ने भएको छ । एमाले सुर्खेतले आज पत्रकार सम्मेलन गदै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जागरण सभा गर्न लागेको जानकारी दिएको छ । उक्त जागरण सभालाई एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
एमाले सुर्खेतका अध्यक्ष कुलमणी देवकोटाका अनुसार मंगलगढी चोकबाट ¥याली सुरु भई पिपल चौतारामा जनजागरण सभाको आयोजना गर्न लागिएको छ ।
राजावादी समूहले राजतन्त्र पुनस्र्थापनाका लागि प्रतिगामी प्रयास गरिरहेको भन्दै नेकपा एमालेले यसबारे जनतालाई सचेत पार्न र उन्नत गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न जनजागरण सभाको आयोजना गरिएको हो नेकपा एमाले कर्णाली प्रदेश संयोजक गोरख बोगटीले बताए ।
उनका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, स्थायित्व र जनअधिकारको सुदृढीकरणका लागि भन्दै एमालेले देशव्यापी जनजागरण अभियान संचालन गरिरहेको छ ।
सरकारमा रहेरपनि आवश्यक पर्दा सडकमा जानुपर्ने अवस्थालाई आत्मसाथ गर्दै एमालेले प्रतिक्रान्तिकारी गतिविधिहरूलाई परास्त गर्ने सङ्कल्प गरेको उनको भनाइ छ ।
‘नेपाली जनताका लागि कुनैपनि प्रकारको निरंकुशता, पश्चगमन र वंशगत आधारमा सामन्तीतन्त्र स्विकार्य छैन’ एमाले केन्द्रिय सदस्य नवराज रावतले भने, ‘नेपालको संविधान २०७२ जारी भइसकेपछि जनताका हक अधिकारहरू संस्थागत रूपमा कार्यान्वयन भइरहेको अवस्थामा मुलुकमा फेरि देशीविदेशी शक्तिहरूले गणतन्त्र र संविधान विरोधी प्रतिगामी षडयन्त्रहरू गर्न खोजिरहेका छन् । यसप्रकारका अराजकता र मुलुकलाई अस्थिर बनाइराख्ने क्रियाकलापका विरुद्ध जनजागरण अभियानमा जुटिरहेका छौं ।’
उक्त जागरण सभामा करिब १२ हजारको सहभागिता रहने एमाले सुर्खेतले जनाएको छ । जागरणसभामा समसामयिक राजनीतिक घटना र यसले सृजना गरेको परिस्थितिका बारेमा एमालेको धारणा बुझ्न र लोकतान्त्रिक गणतन्त्रको पक्षमा ऐक्यबद्धता जनाउन सबैलाई एमालेले आह्वान गरेको छ ।
झिल्को खबर । २४ चैत्र २०८१, आईतवार २२:१६