काठमाण्डौ । सहकारी ठगी एवम् सङ्गठित अपराधको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जेल चलान भएका छन् ।
प्रहरीले आज जिल्ला अदालत उपस्थित गराएपछि लामिछानेलाई जिल्ला कारागार पठाइएको रूपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले जानकारी दिनुभयो ।
उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई चैत २२ मा जिल्ला अदालत, रुपन्देहीको निर्णय उल्टाएर थुनामा पठाउने आदेश दिएको हो ।
शुक्रवार आदेश आए लगत्तै प्रहरीले लामिछानेलाई काठमाण्डौबाट पक्राउ गरी भैरहवा पु¥याइएको थियो । लामिछाने पक्राउ परेपछि लगातार दुई दिन सार्वजनिक बिदा परेकाले प्रहरी उनलाई हिरासतमै राखेको थियो ।
जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । आज त्यो आदेश खारेज भएको छ ।
रुपन्देहीको सुप्रिम सहकारीबाट लामिछानेसहित ४२ जनाले ५५ करोड रुपैयाँ अपचलन गरेको भन्दै मुद्दा दायर भएको थियो । लामिछानेविरुद्ध कास्की, काठमाण्डौ, चितवन र पर्सामा पनि सहकारीको रकम सङ्गठित तवरमा ठगी गरेको आरोपमा मुद्दा दायर भएको छ ।
पर्साबाहेक सबै ठाउँमा उनलाई धरौटीमा छोड्न आदेश दिइएको थियो । तर रुपन्देहीको सहकारी ठगीको मुद्दामा धरौटीमा छोड्ने विषयलाई उच्च अदालतले उल्टाइदिएको छ ।
अर्का अभियुक्त पूर्व डीआईजी छविलाल जोशीको मुद्दामा भने इजलासले जिल्लाकै आदेश सदर गरिदिएको छ । उनलाई जिल्ला अदालतले नै थुनामा पठाउने आदेश दिएको थियो ।
लामिछाने केही दिनअघि मात्र रास्वपा सभापतिको जिम्मेवारीमा फर्किएका थिए । उनकै सभापतित्वमा रास्वपा केन्द्रीय समितिको बैठक बसेको थियो ।
लामिछानेको सांसद पदको निलम्बन हटाउने बारेमा सभामुख देवराज घिमिरे छलफल गरिरहेको बेला अदालतले कारागार पठाइदिएको हो ।
झिल्को खबर । २५ चैत्र २०८१, सोमबार १३:४१