श्रीमतीबाट पीडित बन्दै पुरुषः कपिलवस्तुमा १९ जना श्रीमानले दिए श्रीमतीविरुद्ध उजुरी

कपिलवस्तुमा श्रीमतीबाट पीडित पुरुषहरूको संख्या बढ्न थालेको छ । जिल्लामा १९ जना श्रीमानले श्रीमतीविरुद्ध उजुरी दिएका छन् । पछिल्लो समय जिल्लामा पुरुष हिंसा बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्ष ०८०÷८१ मा श्रीमानले श्रीमतीविरुद्ध १९ वटा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलले जनाएको छ । आर्थिक वर्ष ०७९÷८० मा जिल्लामा २९ वटा पुरुष हिंसा भएको भन्दै उजुरी दर्ता थिए । आर्थिक वर्ष ०७०÷७१ देखि पुरुष हिंसाको रेकर्डसमेत राख्न थालिएको सेलले बताएको छ।

त्यसयता वर्षको १० देखि १५ वटा मात्र पुरुष हिंसासम्बन्धी उजुरी पर्ने गरेकोमा गत आर्थिक वर्षमा भने १९ वटा उजुरी दर्ता भएको प्रहरीको भनाइ छ । श्रीमतीबाट पीडित भएको कुरा समाजमा गर्दा अपहेलित हुने डरले चुपचाप हिंसा सहेर बस्ने पुरुषहरूले अहिले उजुरी दिन थालेका छन् ।

अहिले जिल्लामा गाउँघरमै गुपचुपमा मिलाइने महिलापीडित पुरुष हिंसाका उजुरी गर्न पुरुषहरू आफैँ प्रहरीकहाँ पुग्ने गरेका छन् । उनीहरूले आफू श्रीमतीबाट पीडित भएको भन्दै न्याय पाउने आशाले जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलमा उजुरी दर्ता गर्ने गरेका छन् ।

यसअघि उजुरी गर्न पुरुषहरू प्रहरीकोमा खासै आउने नगरेको र त्यसकारण प्रहरीमा रेकर्डसमेत राख्ने चलन थिएन । महिलाजस्तै पुरुष पनि उजुरी गर्न आएपछि आरोपित महिलालाई बोलाएर छलफल गराउने गरेको प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।

‘समय, परिस्थिति र अवस्था फेरिँदै जाँदा नयाँ समस्या आएको भन्दै दुवै पक्षलाई मिलाएर पठाउने गरिएको छ,’ ओलीले भने, ‘धेरै पुरुष वास्तविक रूपमा श्रीमतीबाट पीडित भेटिएका छन् ।’

पुरुषहरूले श्रीमती माइत गएपछि नफर्केको, लिन जाँदा झैझडा गर्ने गरेको, वैदेशिक रोजगारीमा गएको वेला पठाएको पैसा हिनामिना गरेकोजस्ता उजुरी दिएको प्रहरी नायब उपरीक्षक ओलीले बताए ।

खासगरी उजुरीमा खान–लाउन नदिएको, कुटपिट गर्दै दुर्व्यवहार गरेको र घरमा काम नगरेर दुःख दिएको भन्दै पुरुष उजुरी गर्न आउने गरेको प्रहरीको भनाइ छ । त्यस्तै, घरमा नबस्ने, घर–व्यवहार नसम्हाल्ने, यातना दिने, विलासी रहनसहन, महँगो लत्ताकपडा र गरगहना मागेर निहुँ खोजेर दुःख दिने गरेको पुरुषहरूको आरोप छ । महिला सेल कपिलवस्तुका अनुसार गत आर्थिक वर्ष ३४७ घरेलु हिंसामा परेको उजुरीमध्ये २४ वटा अदालत पुगेका छन् ।

नपाँ पत्रिकाबाट सभार