लेबनान शान्ति मिसनमा खटिएको नेपाली सैनिक टोलीमाथि आक्रमण हुँदा उपरथि चोकबहादुर ढकालसहित पाँचजना घाइते भएका छन् । मिसनको जिम्मेवारी पूरा गरेर काठमाडौं फर्किनेक्रममा मिसन मुख्यालय नाकुराबाट बेरुतको राफिक हरिरी अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गरेका ढकाल र उनको सुरक्षार्थ खटिएको टोलीलाई स्थानीय विद्रोही समूहले शुक्रबार राति आक्रमण गरेको हो ।
कार्यकाल सकेर उपरथी ढकाल शुक्रबार काठमाडौं फर्किंदै थिए । उनको ठाउँमा उपकमान्डरका रूपमा सेनाका जर्नेल मानबहादुर महरा नियुक्त भएका छन् । उनी जिम्मेवारी सम्हाल्न लेबनान जानेक्रममा छन् । कार्यकाल सकेर फर्किने क्रममा ढकाललाई युनिफिल मुख्यालयले नाकुरामा शुक्रबार मात्रै बिदाइ गरेको थियो । घटनाको सम्बन्धमा युनिफिल मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गरेको छ । मिसनले शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्रसंघले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गरेको छ ।
लेबनानमा नेपालसहित ४८ देशका करिब ११ हजार शान्ति सैनिक कार्यरत छन् । इजरायल–लेबनान १२० किलोमिटर सीमा (नीलो रेखा)को अनुगमनमा राष्ट्रसंघको छातामा सुरक्षाफौज तैनाथ छ । लेबनानमा सबैभन्दा बढी इन्डोनेसियाका सैनिक (करिब ११ सय) छन्,दोस्रोेमा भारतीय (करिब नौ सय) र तेस्रोमा नेपाली (८७६) कार्यरत छन् । विभिन्न राष्ट्रसंघीय शान्ति मिसनमा जम्मा पाँच हजार ९१४ नेपाली सैनिक कार्यरत छन् । मिसनमा अहिले सबैभन्दा धेरै नेपाली फौज छन् ।
संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले बेरुतको रफिक हरिरी अन्तर्राष्ट्रिय विमानस्थलनजिकै नेपाली सैनिक टोलीमाथि भएको आक्रमणको निन्दा गरेका छन् । उनले विज्ञप्ति जारी गरी विमानस्थल जाने मुख्य सडकमा प्रदर्शनकारीले अन्यशान्तिसेनालाई घाइते बनाएको तथा राष्ट्रसंघीय गाडीमा आगजनी गरेको पनि उल्लेख गरेका छन् ।
‘यस्ता आक्रमण पूर्णरूपमा अस्वीकार्य छन् । अपराधीलाई जवाफदेही बनाउनुपर्छ, संयुक्त राष्ट्रसंघका कर्मचारी र सम्पत्तिको सुरक्षालाई सधैँ सम्मान गरिनुपर्छ,’ प्रवक्ता स्टेफेनको विज्ञप्तिमा भनिएको छ, ‘शान्ति सैनिकविरुद्धका आक्रमण अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो । युद्ध अपराध हो ।’
महासचिव गुटेर्रेसले संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको अन्तिम लक्ष्यअनुसार लेबनान र इजरायलबिच स्थायी युद्धविरामको पूर्ण कार्यान्वयनतर्फ काम गर्न सबैलाई अनुरोध गरेका छन् । लेबनानी सेनाले घटनालगत्तै प्रदर्शनकारीलाई तितरबितर गरेको थियो । लेबनानी सेनाका कार्यवाहक सैन्य कमान्डर मेजर जनरल हसन ओडेहले युनिफिल मुख्यालयमा सम्पर्क गरेको तथा घटनामा संलग्न व्यक्तिलाई कानुनी कठघरामा ल्याउने वचनबद्धता जनाएका छन् ।
लेबनान सरकारले इरानी हवाई यात्रुलाई जहाजमा आउन प्रतिबन्ध लगाएपछि असन्तुष्टहरूले लेबनानमा विरोध जनाउँदै आएका छन् । लेबनानको विद्रोही भूमिगत हिजबुल्लाह तथा उनीहरू समर्थित समूहले विरोध प्रदर्शन गरेको र उनीहरूले नै शान्ति सैनिकमाथि आक्रमण गरेको जानकारहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई बताएका छन् । ‘पछिल्ला दिनमा हिजबुल्लाह र हमास कमजोर हुँदै गएका छन् । आफ्नो संगठनको साख देखाउनका लागि उनीहरूले यो स्तरको कार्य गरेका हुनसक्छन् । तर, उनीहरूले यसको चर्को मूल्य चुकाउनुपर्ने हुन्छ,’ नेपाली सेनाका एक बहालवाला उपरथीले भने ।
लेबनानी टिभी नेटवर्क एलबिसिआईले लेबनानका नागरिक उड्डयन अधिकारीलाई उद्धृत गर्दै रिपोर्ट गरेअनुसार इरानी एयरलाइन्स महान एयर र झन्डावाहक सरकारी इरान एयरलाई बेरुत उडान गर्न रोक लगाइएको छ । इरानको आइआरजिसी फोर्सले बेरुत विमानस्थल हुँदै हिजबुल्लाहलाई नगद तस्करी गर्न नागरिक उडान प्रयोग गरेको इजरायली सेनाले आरोप लगाएपछि लेबनान सरकारले उडान बन्द गरेको छ । ‘इरानी कुर्दिस फोर्सले हिजबुल्लाहलाई इजरायलविरुद्ध आक्रमण गर्ने उद्देश्यले हतियार प्रदान गर्न छुट्याइएको रकम तस्करी गर्ने प्रयासमा केही हप्तादेखि बेरुत अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानहरूको दुरुपयोग गरिरहेका थिए,’ इजरायलका सैन्य प्रवक्ता अविचय अद्राईले भनेका थिए ।
इरानबाट लेबनानको उडान रद्द गरिएको बिहीबार तेहरानको इमाम खोमेनी विमानस्थलका सिइओ सइद चालोन्दरीले पुष्टि गरे गरेका थिए । रद्द भएको केही समयपछि सामाजिक सञ्जालमा लेबनानमा हिजबुल्लाह समर्थकले महान एयरलाई अवतरण गर्न अनुमति दिन अस्वीकार गरेको विरोधमा प्रदर्शन थालेका थिए । उनीहरूले बेरुत विमानस्थल जाने बाटो अवरुद्ध सुरु गरेका थिए । यही समूहको निसानामा उपरथी ढकालसहितका सैनिक परेका छन् ।
हिजबुल्लाह समर्थित युवाले सैन्य अधिकारीलाई कुटपिट गरेको, उनीहरूको उपकरण चोरेको र कम्तीमा एउटा गाडीमा आगजनी गरेको लेबनानका सञ्चारमाध्यमले जनाएका छन् ।
लेबनानका गृहमन्त्री अहमज हज्जरले शान्ति सैनिकमाथिको आक्रमण अपराध भएको र लेबनान सरकारका लागि यो अस्वीकार्य रहेको भन्दै निन्दा गरेका छन् । घटनालगत्तै लेबनानको केन्द्रीय सुरक्षा परिषद् बैठकमा विस्तृत समीक्षा भएको लेबनानी सञ्चारमाध्यमले जनाएका छन् । बैठकपछि उनले भनेका छन्, ‘आन्तरिक सुरक्षा बलले सोधपुछका लागि २५ जनालाई हिरासतमा लिएका छन् । सेना र आन्तरिक सुरक्षा बललाई नागरिकको सुरक्षामा खटिन, बन्द सडक खुलाउन निर्देशन दिएको छु ।’ अमेरिकाले घटनाको निन्दा गरेको छ । ‘लेबनानी सेनाको शीघ्र कारबाही तथा घटनाका दोषीलाई जवाफदेही बनाउन सबै उपाय अपनाउने लेबनानी सरकारको प्रतिबद्धताको प्रशंसा गर्छौँ,’ अमेरिकी विज्ञप्तिमा भनिएको छ ।
झिल्को खबर । ४ फाल्गुन २०८१, आईतवार ०८:५९