सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा चौथो पटक सफल मृगौला प्रत्यारोपण भएको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द श्रेष्ठ सहितको विशेषज्ञ चिकित्सक टिम र प्रदेश अस्पताल सुर्खेतका विशेषज्ञ चिकित्सक सहितको टिमले संयुक्त रुपमा सोमवार चौथो पटक २ जनाको सफलता पूर्वक मृगौला प्रत्यारोपण गरेको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.केशर ढकालले बताए ।
प्रदेश अस्पताल सुर्खेतमा अहिलेसम्म ६ जनाले मृगौला प्रत्यारोपण गरिसकेका छन् । नेपाल सरकारको नीति तथा कार्यक्रम बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सबै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने योजनालाई कार्यान्वयन गर्न प्रदेश अस्पताल सुर्खेत र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबीच प्रदेश अस्पताल सुर्खेतमा मृगौला प्रत्यारोपण गर्नका लागि ०७८ चैत १० गते सम्झौता भएको थियो । उक्त सम्झौता पश्चात ०७९ माघ २१ गते प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक एक जनाको सफल मृगौलो प्रत्यारोपण भएको थियो । पहिलो पटक सफल मृगौला प्रत्यारोपण पश्चात प्रदेश अस्पताल सुर्खेतमा नियमित रुपमा प्रत्यारोपण सेवा संचालन गर्ने योजना अनुरुप सम्पूर्ण कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पुरा गरे पश्चात ०८० असार २८ गते दोस्रो पटक एक जना र ०८१ असार २६ र २७ गते तेस्रो पटक २ जनाको सफल मृगौला प्रत्यारोपण भएको थियो । यो सँगै सोमवार पुनः चौथो पटक २ जनाको सफल मृगौला प्रत्यारोपण पश्चात अब प्रदेश अस्पताल सुर्खेतमा मृगौला प्रत्यारोपण गर्नेको संङ्ख्या ६ पुगेको छ ।
अस्पताल निर्देशक डा.केशर ढकालले प्रदेश अस्पताल सुर्खेतले आगामी दिनमा अस्पतालमा नियमित रुपमा प्रत्यारोपण संचालन गर्ने योजना बनाएको भन्दै त्यसको लागि अस्पतालमा कार्यरत चिकित्सक नर्स तथा प्राविधिकलाई क्षमता बृद्धि गरी अस्पताललाई प्रत्यारोपण जनशक्ति सम्बन्धि आत्म निर्भर बनाउनका लागि केन्द्रमा थप तालिममा पठाउने योजना बनाएको बताए ।
‘शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मृगौला विरामीको चापलाई ध्यानमा राख्दै देशव्यापी रुपमा मृगौला प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष अनुसार कर्णाली प्रदेशमा नियमित सेवा सुरु गर्न प्राविधिक सहयोग गरेको छ,’अस्पताल निर्देशक डाक्टर ढकालले भने,‘यसको लागि आउने भविश्यमा पनि नियमित सहयोग हुँनेमा आशावादी छौ ।’
अस्पताल निर्देशक ढकालले आफु अस्पतालको निर्देशक भएर आए देखि विगतमा संचालन भएका नियमित सेवालाई निरन्तरता दिएको र केहि सेवा थप भएको समेत जानकारी गराए । उनले मुटुरोग निदान तथा उपचारका लागि क्याथल्याव सेवाको परिक्षण भई नियमित सेवा संचालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कार्डियोलोजिष्ट समेत खटाइएको जानकारी गराए
।
प्रदेश अस्पताल सुर्खेतमा मृगौला प्रत्यारोपण सेवा संचालन पश्चात कर्णालीका नागरिक र कर्णाली प्रदेशसँग जोडिएको सुदूरपश्चिम र लुम्बिनीका नागरिकलाई समेत महङ्गो रकम खर्च गरी यो क्षेत्रभन्दा बाहिर जानु पर्ने बाध्यता हटेको छ ।
चौथो पटकसम्म प्रदेश अस्पताल सुर्खेतमा मृगौला प्रत्यारोपणको नेतृत्व गरिरहेका शहिद धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द श्रेष्ठले नेपालको अन्य ठाउँभन्दा प्रदेश अस्पताल सुर्खेतमा मृगौला प्रत्यारोपण गर्न सजिलो भएको बताए ।
‘यहाँ भौतिक पूर्वाधार त छदैछ जनशक्ति पनि आफ्नो हुँने हो भने अब नियमित रुपमा यो कार्यक्रम संचालन हुन्छ त्यसको लागि प्रदेश अस्पताल सक्षम छ,’निर्देशक डाक्टर श्रेष्ठले भने,‘मृगौला प्रत्यारोपणको लागि इच्छा धेरै अस्पतालहरुले गरेका थिए तर प्रदेश अस्पताल सुर्खेत जस्तो सहज अन्त नभएका कारण हामिले प्रत्यारोपण गर्न सकेका छैनौ यहाँ प्रदेश अस्पताल सुर्खेतमा चौथो पटक भइसक्यो ।’
प्रदेश अस्पताल सुर्खेतलाई मृगौला प्रत्यारोपण सम्बन्धि दक्ष जनशक्ति निर्माणमा सहयोग पुग्ने उदेश्यले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रदेश अस्पताल सुर्खेतलाई एक बर्षको फिलोसीप दिएको जानकारी गराए । डा. श्रेष्ठका अनुसार यो फिलोसीपले प्रदेश अस्पताल सुर्खेतलाई प्रत्यारोपण सम्बन्धि प्राविधिक जनशक्तिमा आत्म निर्भर बनाउनेमा विश्वास व्यक्त गरे ।
‘नेपालका अन्य ठुलो अस्पतालहरुमा यो सेवा संचालन नभएको भन्दै निर्देशक डा. श्रेष्ठले भने,’चिकित्सा विज्ञानको अन्तिम बिन्दु भनेको प्रत्यारोपण हो यसमा प्रदेश अस्पताल शतप्रतिसत सफल हुन्छ ।’
विवशकुमार सेजुवाल । २० फाल्गुन २०८१, मंगलवार १५:१३