
काठमाडौं । राजावादीले शुक्रबार काठमाडौंमा गरेको आन्दोलन हिंसात्मक भएको भन्दै निजी क्षेत्रले त्यसको भत्र्सना गरेको छ । निजी क्षेत्रका छाता संगठनहरूले छुट्टा–छुट्टै विज्ञप्ति जारी गर्दै निजी तथा सार्वजनिक सम्पत्तिमाथि क्षति पुगेको भन्दै क्षतिपूर्ति दिन मागसमेत गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघले शनिबार विज्ञप्ति जारी गर्दै आन्दोलनबाट सर्वसाधारण एवं उद्यमी–व्यवसायीको पेसा–व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन हुनुका साथै निजी तथा सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमण, लुटपाट, आगजनीलगायत गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
‘०८१ चैत १५ गते काठमाडौंमा भएको आन्दोलन–प्रदर्शनका क्रममा मानवीय क्षतिसँगै धनजनमा भएको आक्रमण निकै दुखद छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिमा आक्रमण, आगजनी, लुटपाटलगायतका हिंसक घटनाबाट ठुलो क्षति पुगेकोमा यसको भत्र्सना गर्दै क्षतिपूर्ति दिनुपर्ने महासंघको माग छ ।’
संविधानप्रदत्त अधिकारभित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंसक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्तिमाथिको आक्रमण निन्दनीय भएको महासंघको ठहर छ । ‘कुनै पनि स्वरूपमा हुने यस प्रकारका घटनाप्रति महासंघ घोर निन्दा र भत्र्सना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘साथै, महासंघ सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गर्दछ ।’
नेपाल उद्योग परिसंघले पनि शनिबार विज्ञप्ति जारी गर्दै निजी सम्पत्ति तथा सञ्चारगृहमा तोडफोड, लुटपाटको घटनालाई दुःखद भन्दै यस्ता अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी, लुटपाटजस्ता अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई सुरक्षित रूपमा व्यापार, व्यवसाय, पेसा गर्न पाउने अधिकारलाई सुरक्षित बनाउन परिसंघले माग गरेको छ । यस प्रकारका घटना दोहोरिन नदिन परिसंघले अपिलसमेत गरेको छ । ‘शुक्रबार निजी सम्पत्ति तथा सञ्चारगृहमा भएको तोडफोड, आगजनी तथा व्यावसायिक प्रतिष्ठानमा भएको लुटपाटको घटना अत्यन्त दुःखद हो,’ परिसंघले भनेको छ, ‘विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्दा आमसर्वसाधारण, विभिन्न पेसा–व्यवसायमाथि भौतिक आक्रमण, व्यक्तिगत सम्पत्तिमाथि आगजनी, व्यावसायिक प्रतिष्ठानमा तोडफोड एवं लुटपाटजस्ता कार्य जहिले पनि निन्दनीय छ ।’
नेकपा एमालेनिकट नेपाल उद्योग तथा व्यवसायी महासंघले स्वच्छ, पारदर्शी एवं भयरहित वातावरणमा व्यवसाय गर्ने वातावरण निर्माण गर्न सबै सरोकारवाला पक्षसँग हार्दिक आह्वान गरेको छ । ‘पूर्वराजावादीको अराजक समूहबाट भएको सर्वसाधारण नागरिकका घर तथा व्यावसायिक भवनमा तोडफोड गरी आगजनी गर्ने, सञ्चारगृहमाथि तोडफोड तथा उद्योगी–व्यवसायी र सर्वसाधारण नागरिकको सम्पत्ति लुटपाट गर्नेजस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन्,’ महासंघले भनेको छ, ‘यस्ता गतिविधिविरुद्ध सचेत हुँदै व्यावसायिक जगत् र जनसमुदायको जनधनको सुरक्षाका लागि सम्पूर्ण सरोकारवाला पक्षलाई सचेत हुन महासंघ हार्दिक अपिल गर्दछ ।’
झिल्को खबर । १७ चैत्र २०८१, आईतवार १०:४६