
सुर्खेत । पत्रकार सुरेश रजकको हत्या भएको भन्दै नेपाल पत्रकार महासंघ आन्दोलित भएको छ । महासंघले शनिबार बिहान माइतीघर मण्डलामा विरोधसभा आयोजना ग¥यो । पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले पत्रकारको जिउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकार एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले रजकलाई न्याय दिलाउन महासंघ निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे । महासचिव रामप्रसाद दाहालले पत्रकार रजक हत्या निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने बताए । शनिबार विभिन्न जिल्लामा पत्रकारहरूले रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।
महासंघले तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा पत्रकार सुरेश रजकको मृत्यु र दुई सञ्चारगृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ । महासंघको शनिबार राजधानीमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । समितिमा महासंघका ६ जना सचिव सदस्य छन् । समितिले घटनाका पीडित, प्रत्यक्षदर्शी र पीडितका परिवारसँग छलफल गर्नेछ । समितिले घटना के, कसरी भयो ?, अब महासंघ कसरी अघि बढ्ने ? लगायत विषयमा सुझावसहितको प्रतिवेदन दिने जनाइएको छ ।
सञ्चारगृहमा आक्रमण गर्नेलाई कारबाही गर्न मिडिया सोसाइटीको माग
नेपाल मिडिया सोसाइटीले सञ्चारगृहमा भएको आक्रमणको निन्दा गर्दै दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ । सोसाइटीले शनिबार विज्ञप्ति जारी गर्दै पत्रकारहरूको पेसागत सुरक्षा, सूचना संकलन–प्रकाशन स्वतन्त्रता र सञ्चारगृहको सुरक्षामा विशेष ध्यान दिन अपिल गर्दै घटनासँग जोडिएकाहरूमाथि तत्काल कानुनी कदम चाल्न आग्रह गरेको छ ।
सोसाइटीले राजावादी समूहले सञ्चारगृहमाथि हिंसात्मक आक्रमण गरेको घटनाले प्रचलित कानुन, निर्वाध अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि खुला हमला गरेको ठहर गरेको छ । ‘लोकतान्त्रिक गणतन्त्रले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति, संगठन र सभा–सम्मेलन गर्ने स्वतन्त्रतामाथि कथित व्यवस्था परिवर्तनको नाममा अराजक समूहले खुलेआम गरेको आक्रमणप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ सोसाइटीको विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार राजधानी काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहको नाममा भएको प्रदर्शनले सञ्चारगृहमाथि हिंसात्मक आक्रमण गरेको घटनाले प्रचलित कानुन, निर्वाध अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि खुला हमला गरेको छ ।
झिल्को खबर । १७ चैत्र २०८१, आईतवार १०:५०