नौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीबाट २९ खेल इभेन्टमा ४९८ खेलाडी सहभागि हुने

सुर्खेत । गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कार्तिक ३ गते सम्म संचालन हुने नौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व तयारीमा कर्णाली प्रदेश खेलकुद विकास परिषद तिव्र गतिमा लागिरहेको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदले नौं राष्ट्रिय खेलकुद प्रतियोगितामा २९ वटा खेल इभेन्टमा भाग लिने भएको छ । परिषदका सदस्य सचिव विश्वामित्र संज्यालका अनुसार कर्णाली प्रदेशबाट २९ वटा खेल इभेन्टमा भाग लिने ४९८ जना खेलाडीहरु छनौट भइसकेका छन् ।

कर्णालीले सहभागिता जनाउने खेल इभेन्टहरुकमा भलिबल, एथलेटिक्स, कराँते, तेक्वान्दो, उसु, व्याडमिन्टन, टेवल टेनिस, बुद्धिचाल, कवड्डी, बक्सिङ, क्रिकेट, फुटबल, ह्याण्डबल, आई. टि. एफ. तेक्वान्दो, रग्वी, खो.खो., पौडी, सुटिङ्ग, प्यारागलाइडिङ्ग, साइकिलिङ्ग, फुलकन्ट्याक कराँते, शारिरीक सुगठन, जडो, सेपाकताक्रो, जिम्न्यास्टिक, हक्की, कुस्ती, भारात्तलन, बास्केटबल, रहेका छन् ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशले आयोजना गर्ने भएकोले यो पटकको नौं राष्ट्रिय खेलकुद प्रतियोगितामा धेरै खेलमा सहभागिता जनाउने भन्दा पनि पदक सम्भावित खेललाई परिषदले टार्गेट गरेको सदस्य सचिव संज्यालको भनाइ छ ।

यहि भदौ १८ देखि २४ गते सम्म छनौट प्रतियोगिता सकेको परिषदले कर्णालीका १० वटै जिल्लाबाट विभिन्न खेलका खेलाडीहरु समावेश गरेको कर्णाली प्रदेश खेलकुद विकास परिषदका प्रशिक्षक प्रमुख प्रदिप राइले जानकारी जनकारी दिए । प्रशिक्षक प्रमुख राइका अनुसार सर्खेतबाट २७१, दैलेख २७, जाजरकोट १४, सल्यान ४२, पश्चिमरुकुम ३६, डोल्पा ८, कालिकोट ३४, हुम्ला ३६, मुगु ११, जुम्ला १९ गरी कर्णाली प्रदेशका दश वटै जिल्लाबाट महिला २०२ जना र पुरुष २९६ जना गरी जम्मा ४९८ जना खेलाडीहरु छनौट भएका छन् ।

परिषदले पदक सम्भावित खेलहरुलाई बन्द प्रशिक्षणमा राख्ने तयारी गरेको छ महिला फुटबल टिम भने बुधवार देखि बन्द प्रशिक्षणमा गइसकेको छ । अन्य खेलका खेलाडीहरु पनि अबको केहि दिन भित्र बन्द प्रशिक्षणमा राखिसक्ने परिषदको तयारी छ ।