रुकुम पश्चिमको सोती घटनाः जन्मकैदको फैसला सदर, जातीय विभेद बदर

सुर्खेत । रुकुम पश्चिमको सोती घटनामा उच्च अदालत सुर्खेतले सबै प्रतिवादीलाई जातीय विभेद मुद्दामा सफाइ दिएको छ । हत्या अभियोगमा २३ जनाको जन्मकैदको फैसला भने यथावत् राखेको छ ।

वि.सं. २०७७ साल जेठ १० गते जाजरकोटका नवराज विक आफ्नी प्रेमिका ठकुरी थरकी युवतीसँग विवाह गर्न रुकुम चौरजहारी पुगेका थिए । गाउँलेहरूले उनीसहित गएका १८ जनामध्ये ६ जनालाई कुटपिट गर्दा ज्यान गएको थियो ।

नवराज विकसहित ६ जनाको हत्या अभियोगमा थुनामा रहेका २४ जनामध्ये एक नाबालक प्रतिवादीलाई अदालतले पूर्ण सफाइ दिएको हो । ती नाबालकमाथि जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी मात्र मुद्दा दर्ता गरिएको थियो । सो मुद्दामा सफाइ पाएसँगै उनी पुर्पक्ष मुक्त भएका छन् ।

अन्य २३ जना प्रतिवादीहरू भने जातीय विभेदसँगै ज्यान मार्ने र कर्तव्य ज्यान मुद्दामा पनि दोषी ठहर भएका थिए । उच्च अदालतले उनीहरूलाई जातीय विभेद मुद्दामा सफाइ दिए पनि जिल्ला अदालत रुकुम पश्चिमले २०८० पुस ५ गते सुनाएको जन्मकैदको फैसला सदर गरेको हो ।

अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले यस घटनामा २३ जना प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको हो ।

जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर भएको उच्च अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाले बताए । ‘रुकुम जिल्ला अदालतले २३ जनालाई जन्मकैदको सजाय गरेको थियो, त्यो सदर भएको छ,’ उनले भने, ‘जातीय भेदभाव तथा छुवाछुतमा जिल्लाले दुई वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना गरेको थियो । त्यसलाई उच्च अदालतले बदर गरेको छ ।