१० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सरकारले महत्व दिएको देखिदैन – नेता कडेंल

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलका नेता यमलाल कडेंलले सरकारले १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई महत्व नदिएको बताएका छन् ।

शनिवार प्रदेश गौरबको आयोजना निर्माणाधिन प्रदेश रंगशालाको अनुगमन गर्दै नेता कडेंलले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुनु कर्णालीको लागि ठुलो अबसर भएको भन्दै न्युनतम् व्यवस्थापनमा प्रभाबकारी कार्यक्रम तय गर्न जरुरी भएकोले सरकारले त्यसतर्फ ध्यान नदिएको आरोप लगाए ।

‘आउने बर्षको लागि पहिलो प्रथामिकताको क्षेत्र भनेको नै १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता हो । मैले कर्णाली प्रदेश सभामा पटक पटक भनेको छु,’ ‘नेता कडेंलले भने,‘यहि गतिमा सरकारले पहिलो प्रथामिकताको रुपमा लिन्छ जस्तो मलाई लाग्दैन ।’

आपतमा मात्र पैसा खर्च गर्ने तर महत्वका क्षेत्रहरु छुट्ने गरेको प्रचलन बढेकाले यसमा सरकारले ध्यान दिन जरुरी भएको उनले उल्लेख गरे । अहिले बन्दै गरेको प्रदेश गौरबको आयोजना प्रदेश रंगशालाले मात्र २०८१ मा आयोजना हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न हुन नसक्ने भन्दै नेता कडेंलले प्रदेश राजधानी भित्रकै चिसापानी रंगशाला,बाबियाचौर रंगशाला, अलायाचौर रंगशाला र मैनतडा रंगशाला निर्माणमा जोड दिनु पर्ने बताए ।

अहिलेको रंगशालाको अबलोकनले आफुलाई खेल क्षेत्रको बारेमा सरकारको ध्यानआकर्षण गराउन सजिलो भएकाले निर्माण कम्पनीलाई जति काम सम्पन्न भएको छ त्यसको भुक्तानी छिटो लिए सरकारलाई नै सजिलो हुने भन्दै नेता कडेंलले त्यसको लागि आफ्नो तर्फबाट निर्माण व्यवसायीलाई सहयोग गर्न तयार रहेको बताए ।