सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा नेपालकै उत्कृष्ट एमआरआई मेसिनबाट सेवा सुरु गरिएको छ । आज शुक्रबार प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काले सेवाको सुरुवात गरेका हुन् । करिब दुई महिना लगाएर मेसिन जडान र प्रोसेसिङ्ग प्रोग्रामहरु इन्स्टल गरेर एमआरआई मार्फत सेवाहरु सुचारु गरिएको हो ।
नेपालकै उत्कृष्ट एमआरआई मेसिनबाट कर्णालीका नागरिकलाई सेवा दिन पाउँदा आफु एकदक खुसी भएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काले बताए । सुर्खेतमै एमआरआई मेसीनबाट सेवा सुरू भएपछि अब उपचारका लागि बाहिर जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास लिएको उनले बताए ।
उक्त मेसिन ६४ स्वतन्त्र च्यानल क्षमताको एमआरआई मेसिन उच्च गुणस्तर र प्राबिधिक विवरण प्राविधिक विशिष्टताका हिसाबले उच्च गुणस्तर रहेको छ । अहिले सम्म नेपालकै सबै भन्दा बढि क्षमता भएको दैनिक ३५ देखि ४० जनालाई जाँच गर्न सकिने आर्टिफिसियल इन्टेलिजेन्स आवाजविहीन एमआरआई मेसिन जडानले कर्णालीका नागरिकलाई उपचारमा धेरै सहज हुने अपेक्षा छ ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई एमआरआई मेसिन खरिदको लागि बजेट उलब्ध गराएको थियो । उक्त मेसीन नेपाली रुपैंयाँ २९ करोड ७१ लाख परेको हो । मेसिन २०२३ मा निर्मित भएर परिक्षण गरिएको मेसिन हो ।
पछिल्लो समय प्रदेश अस्पतालमा विभिन्न सेवाहरु विस्तार हुदै आइरहेका छन् । केही समय आगाडी मुटु रोग सम्बन्धि समस्या भएका विरामीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले मुटुरोग सम्बन्धि ओपिडी सेवाको सुरुवात गरिएको गरिएको थियो ।
झिल्को खबर । २९ भाद्र २०८०, शुक्रबार १०:३०