दशौं राष्ट्रिय खेलकुदको पूर्व तयारीमा कर्णाली, अर्थमन्त्री शर्मा भन्छन् बजेट अभाव हुन दिन्नौं

सुर्खेत । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएसँगै कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व तयारी तिब्र रुपमा चलिरहेको छ ।

काठमाडौं पछिको ठुलो सहर पोखरामा हालै सम्पन्न भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट कर्णाली प्रदेशले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको झण्डा लिइसकेपछि कर्णाली प्रदेशले आफ्नो आन्तरिक तयारीलाई अहिले देखि नै तिब्र बनाउन थालेको हो ।

अहिले खेल क्षेत्रमा कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता भौतिक पूर्वाधार विना कसरी सम्पन्न होला भन्ने खेल क्षेत्रमा चर्चा चलिरहका बेला यता कर्णाली प्रदेशमा भने खेलकुद पूर्वाधार तिब्र गतिमा निर्माण भइरहेका छन् ।

गृह जिल्लामा रहेका नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले दुइ वर्षपछि कर्णालीमा हुने दशौं खेलकुद प्रतियोगिताका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् । आज विहान रुकुम पश्चिमको चौरजहारीमा ८५ करोड लागतमा बन्न लागेको रंगशालाको निरीक्षण गर्दै उनले यस्तो बताएका हुन ।

‘तपाइहरु पूर्वाधार विकासका लागि बजेट अभाव हुन्छ कि, कतै हामी खेलकुद आयोजना गर्न सक्दैनौं कि भनेर कुनैपनि चिन्ता नलिनुहोस । कामलाई तीव्र रुपमा अघि बढाउनुहोस । बजेटको अभावमा कर्णालीमा खेल संरचना अभाव हुन दिईदैन ।’ उनले भने, ‘पोखराको भन्दा राम्रोसँग खेलकुद आयोजना गर्नेगरि आजै देखि अहिले देखि नै तयारी थाल्नुस ।’

कर्णाली खेलकुद विकास परिषदले आगामी मंसिर पहिलो हप्ता कर्णालीको प्रमुख पर्यटकीय स्थल स्वर्गकी अप्सरा भनेर चिनिएको मुगुको रारामा आयोजना हुने राष्ट्रिय खेलकुद परिषदको बैठकबाट दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गर्ने तयारी थालेको परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले जानकारी दिए ।

‘संघीय सरकारले २०७४ सालमा एक प्रदेश एक रंगशाला निर्माण गर्ने भनेर नीति ल्याएको थियो ।’ उनले भने, ‘तर हरेक वर्ष बजेट आउने तर फ्रिज हुने प्रचलन कायमै रह्यो । बजेट कार्यान्वयनका लागि अर्थमन्त्री शर्मा भएपछि सहज भएको हो । मैले उहाँलाई आज विहानै धन्यवाद समेत दिइसकेको छु ।’