‘हिरासतमा पुस्तकालय’का लागि लेखक विसीद्वारा ‘रमा’ उपन्यास सहयोग

सुर्खेत । पत्रकार तथा लेखक पुनम विसीले ‘हिरासतमा पुस्तकालय’ अभियानका लागि दुई दर्जन बढी उपन्यास सहयोग गरेका छन् ।

शुक्रवार कर्णाली प्रदेश प्रहरीको कार्यालयमा एक कार्यक्रमका विच पत्रकार विसीद्वारा लिखित २९ वटा ‘रमा’ उपन्यास कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकाललाई हस्तान्तरण गरिएको छ । प्रदेश प्रहरीको ‘हिरासतमा पुस्तकालय अभियान’का लागि पत्रकार विसीले उपन्यास सहयोग–हस्तान्तरण गरेका हुन् ।

कर्णालीमा मुद्दा चल्ने १४ वटा प्रहरी कार्यालयहरु छन् । विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिहरुमा सकारात्मक सोचको विकास गर्ने उद्देश्यका साथ प्रहरीले हिरासतमा पुस्तकालय स्थापना गर्न लागेको हो ।

‘यो मेरो पहिलो उपन्यास हो । हिरासतमा पुस्तकालय अभियानले कर्णालीमा सकारात्मक सोचको वृद्धि गर्ने महशुस गरेर मैले रमा हस्तान्तरण गरेको हुँ ।’ विसीले भने, ‘रमा एक सशक्त नारीको आत्मकथा हो । कर्णालीका नारीहरुले आफ्नो जीवनमा भोग्नुपरेका कथा, व्यथाहरु उपन्यासमा समेट्ने प्रयत्न गरेको छु ।’

लेखक विसीद्वारा प्राप्त उपन्यास तत्काल कर्णालीका सबै हिरासतका पुस्तकालयमा पठाइने प्रहरी नायव महानिरीक्षक ढकालले बताए ।

हिरासतमा रहेका कैदीहरुमा अध्ययनशील, हिरासतको समयलाई समेत उत्पादनशील र अध्ययन तथा ज्ञानवद्र्धक शिक्षामा सहयोग गर्न पुस्तकालयको स्थापना गर्न लागिएको महानिरीक्षक ढकालले बताए ।

साथै, कर्णाली प्रदेशमा कारागारलाई किताब अभियानको समेत गठन समेत गरिएको छ । उक्त अभियानमार्फत यसअघि ४० हजार भन्दा बढी पुस्तक प्रहरीलाई हस्तान्तरण गरिसकेको समितिको उप–संयोजक ज्योति कटुवालले जानकारी दिइन् । कारागार पुस्तक अभियान २३ चैत्र, २०७५ मा साहित्यकारसमेत रहेका तत्कालिन प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहको संयोजकत्वमा शुरु भएको थियो ।

गत वर्ष २०७९ वैशाखमा रमा उपन्यास विमोचन भएको थियो ।