तोकिएको समयमा रंगशाला सम्पन्न गर्न नेता शाहीको निर्देशन

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का युवा नेता एवं कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री, प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले कर्णालीको एक मात्र गौरबको आयोजना कर्णाली प्रदेश रंगशाला तोकिएको समयभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।

आइतवार निर्माणाधिन प्रदेश रंगशालाको अनुमगन गर्दै नेता शाहीले यस्तो निर्देशन दिएका हुन् । कर्णाली प्रदेशको प्रथम मुख्यमन्त्री हुना बेला आफ्नो नेतृत्वको मन्त्री परिषद्ले कर्णालीको सबैभन्दा ठुलो ड्रिम योजनाको रुपमा कर्णालीको खेल क्षेत्रलाई लिएको भन्दै नेता शाहीले यो आयोजनाको शुरुवात गरिएको बताए ।

‘कर्णालीमा धेरै सम्भावनाहरु छन् त्यो मध्येको सबैभन्दा ठुलो सम्भावना भनेको कर्णालीको खेल पर्यटन हो, ‘नेता शाहीले भने,’ ‘यसको सम्भाव्यता अध्ययन गरेर नै यो आयोजनाको निर्णय गरिएको हो ।’

पछिल्लो समय रंगशालाको कामको गतिलाई हेर्दा तोकिएको समय भित्र सम्पन्न भएर कर्णाली प्रदेशले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता यहि नयाँ प्रदेश रंगशालामा भित्र आयोजना गर्नेमा आफु विश्वस्त रहेको समेत बताए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले कर्णालीमा निर्माणाधिन प्रदेश रंगशालाले मात्र नपुग्ने भन्दै संघीय सरकारबाट १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता टार्गेट गरेर अन्य खेलकुदका पूर्वाधारको पनि आवश्यकता रहेको भन्दै त्यसको लागि पहल गरिदिनको लागि नेता शाही मार्फत संघीय सरकारलाई आग्रह गरे ।

‘अहिले बाहिर भौतिक पूर्वाधारकै कारण देखाएर कर्णालीमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न हुन सक्दैन भन्ने भ्रम फैलाइएकाले त्यसको जवाफ अबको एक बर्षमा कर्णालीले दिने छ, ‘सदस्य सचिव संज्यालले भने,’ ‘त्यसको लागि कर्णाली प्रदेश सरकार, कर्णाली प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले सकरात्मक भूमिका खेल्नु पर्ने छ ।’

२०८१ जेठ ११ गतेभित्र रंगशाला निर्माण सम्पन्न गरिसक्ने कार्यादेशसहित १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० रुपैयाँ लागतमा रंगशाला निर्माणको जिम्मा एमएसी–जीएसएल कम्पनीले पाएको छ । १० हजार दर्शक अट्ने क्षमताको रंगशाला अत्याधुनिक प्रविधिमा निर्माण भइरहेको छ ।