सुर्खेतमा समाजवादी मोर्चाको ‘सन्देश सभा’को तयारी पुरा, प्रधानमन्त्री पनि आउने

सुर्खेत । वीरेन्द्रनगर सुर्खेतको सिटीहलमा विहिवार हुने समाजवादी मोर्चाको ‘सन्देश सभा’को सम्पूर्ण तयारी पुरा भएको छ । उक्त सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहित समाजबादी मोर्चाका नेताहरु भोली सुर्खेत आउने भएका छन् ।
बुधवार वीरेन्द्रनगरमा समाजवादी मोर्चा नेपालको पत्रकार सम्मेलमा बोल्दै नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले प्रचण्डसँगै समाजवादी मोर्चाका शीर्ष नेताहरू आउने जानकारी दिईन् ।

अध्यक्ष केसीले सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक, आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना कर्णाली प्रदेशबाट शुरुवात गर्ने मोर्चाको मुख्य उद्देश्य रहेको बताइन् ।

उनका अनुसार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सी सुर्खेत आउने केसीले बताइन् ।

उक्त सन्देश सभा कार्यक्रमको आयोजना वीरेन्द्रनगरको सिटी हलमा गरिएको छ । बिहीबार दिउँसो ११ बजेबाट कार्यक्रम सुरु हुने र शीर्ष नेताहरूले सोही दिन सभालाई सम्बोधन गर्ने समय तालिका रहेको छ ।