पूर्व एमाले नेतृ खड्का माओवादी प्रवेश

सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी सदस्य हेमा खड्का नेकपा माओवादी केन्द्र प्रवेश गरेकी छन् ।

खड्का नेकपा एमालेको दैलेख जिल्लाको सातौ अधिवेशनबाट जिल्ला कमिटी निर्वाचित सदस्य हुन् । उनि लामो समय देखि नेकपा एमालेको सक्रिय राजनितिमा काम गर्दै आएकी थिइन् ।

खेलकुद क्षेत्रमा समेत सक्रिय खड्का कर्णाली प्रदेश खेलकुद विकास परिषदको वोर्ड सदस्य हुन् । नेकपा एमाले निकट मदन भण्डारी स्पोर्टस एकेडेमी कर्णाली प्रदेश सचिव एवं केन्द्रीय सचिवालय समेत रहेकी खड्कालाई नेकपा माओवादी केन्द्रमा उप–महासचिव जनार्दन शर्माले केहि दिन अघि काठमाडौमा स्वागत गरेका थिए ।

नेकपा एमाले पार्टी परिवारबाद, गुटबादका साथै सिद्धान्तमा बिचलन भएको पार्टी भएकाले आफु इमानदार असली कम्युनिष्ट कार्यकर्ता हुनुको नताले माओवादी पार्टीमा प्रवेश गरेको खड्काले जानकारी दिइन् । राजनिति गर्ने भनेको देश र जनताको लागि हो यहाँ आफन्त र पारिवारलाई राजनितिको नाममा लाभको पद लिनको लागि गर्ने होइन, ‘खड्काले भनिन्,’ ‘एमालेमा लामो समय काम गर्दा मलाई यहि अनुभूति भएर आज मैले एमाले छाडेकी हुँ ।’

पदको लोभमा एमाले छोडेको त होइन ? भन्ने प्रश्नमा नेतृ खड्काले भनिन् ‘मलाई मेरो जिम्मेवारी अनुसारको पद एमालेले दिएकै थियो । पद मात्र चाहिने भए एमाले किन छोड्थे र ! माओवादी पार्टी देशको लागि लडेर आएको र असली कम्युनिष्ट पार्टी भएको हुनाले मेरो सिद्धान्त मिलेको कारण म माओवादी केन्द्रमा प्रवेश गरेकी हुँ ।

खड्का अ.ने.रा.स्व.वि.यू.को केन्द्रीय सदस्य समेत भइसकेकी नेतृ हुन् ।