सरकार जनताको नभई बिचौलियाको पक्षमा काम गरिरहेको छः प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान एमाले–कांग्रेस गठबन्धनको सरकारले जनताको नभई बिचौलियाको पक्षमा काम गरिरहेको आरोप लगाएका छन् ।

आइतबार साँझ विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले प्रभावमा परेर केपी ओली नेतृत्वको सरकारले असुल्नुपर्ने अर्बौँ रुपैयाँ बक्यौता बिचौलियाको प्रभावमा पारेर छुट दिन खोजेको बताए । उनले दलाल र बिचौलियाकै कारण देशलाई अर्बौँ रुपैयाँ घाटा भएको आरोप लगाए ।

प्रचण्डले जनताको अर्बौँ रकम छुट दिने दुस्साहस गरेमा सरकारविरुद्ध सशक्त संघर्ष थाल्ने चेतावनी दिए। उनले बहुमतको आडमा जे पनि गर्न सकिन्छ भन्ने दम्भबाट मुक्त हुन पनि सरकारलाई आग्रह गरे । बंगलादेशमा भएको सत्ता परिवर्तनलाई पनि प्रचण्डले बहुमतको दम्भको घटनाको संज्ञा दिए । उनले दुई पार्टी मिलेर मात्र संविधान संशोधन हुन सक्दैन भन्दै जनताको पक्षमा अझै समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।