सुर्खेत । गृहमन्त्री रमेश लेखकले यो देशका हरेक नागरिकको मानअधिकार रक्षा गर्न सरकार तयार रहेको बताएका छन् ।
मंगलवार वीरेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लेखकले मानअधिकारको रक्षा गर्ने काम राज्यको भएकाले कसैको पनि मानअधिकार हनन् नभएको बताएका हुन् ।
रवि लामिछानेप्रति लक्षित गर्दै उनले मानवअधिकार हनन् नभएको बरु अनुसन्धान प्रभावित गर्न काम भइरहेको बताए ।
सडकमा आएर विधिको शासन उल्लङ्घन गर्ने कार्यमा रास्वपा लागेको भन्दै त्यस्तो कार्य राम्रो नभएको उनको तर्क छ ।
लेखकले संविधानको रक्षा र कार्यान्वयन गर्ने, दीगो शान्ति र समृद्धि ल्याउने विषयमा वर्तमान सरकारले काम गरिरहेको बताए ।
उनले अगाडि थपे, ‘संविधान विरोधी गतिविधि निस्तेज गर्ने कुरामा हामी सबै लाग्नुपर्छ ।’
यो संविधानलाई असफल गर्ने छुट कसैलाई नभएको भन्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताए । ‘बरु कमिकमजोरी सुधार गर्दै अगाडि जाने हो,’ उनले भने ।
लेखकले लुम्बिनी प्रदेशको बाँकेमा रहेका प्रहरी लगायत सुरक्षा निकायका कार्यालयहरु चाँडै कर्णालीमा सार्ने प्रतिबद्धता जनाए ।
त्यसका लागि जग्गाको विषयमा प्रदेश र स्थानीय सरकारले समन्वय गर्नुपर्ने उनको भनाइ छ । गृह मन्त्रालयबाट गरिनुपर्ने कामहरु आफुले सहज रुपमा गर्ने पनि लेखकले बताए ।
शान्ति सुरक्षाको हिसाबले कर्णालीमा खासै चुनौती नदेखिएको दाबी गर्दै उनले भने, ‘आत्महत्या, लागुऔषध र सवारी दुर्घटना कर्णालीका मुख्य चुनौती रहेको पाइयो । यो विषयमा गम्भीर भएर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको छु ।’
झिल्को खबर । २५ मंसिर २०८१, मंगलवार १४:४७