

सुर्खेत । कालिकोटको पचालझरना गाउँपालिकामा शान्ति–सुरक्षा र अनलाइन सेवाप्रवाहसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय कालिकोटको आयोजनामा गरिएको कार्यक्रममा स्थानीय तहमा शान्ति–सुरक्षा व्यवस्थापन, अनलाइन नागरिकता सिफारिस तथा सूचना–प्रविधिमार्फत सेवा वितरणलाई कसरी सहज र प्रभावकारी बनाउन सकिन्छ भन्ने बारे विस्तृत छलफल गरिएको हो ।
कार्यक्रममा सहभागीहरूले स्थानीय प्रशासन र स्थानीय तहबीचको समन्वय अझ सुदृढ भए सेवा प्रवाह छिटो, छरितो र सरल हुने बताए । उनीहरूले सूचना–प्रविधिको प्रयोगले सेवाको पहुँच बढ्ने, समय बचत हुने र नागरिकमैत्री प्रशासन विकासमा मद्दत पुग्ने धारणा राखे।

अन्तरक्रिया कार्यक्रम प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाही, जिल्ला प्रशासन कार्यालयबाट सहभागी टोलि, गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिको उपस्थिति थियो।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले शान्ति–सुरक्षा स्थानीय विकासको आधार भएको उल्लेख गर्दै ग्रामीण क्षेत्रमा हुने विसंगति, अपराध रोकथाम तथा जोखिम व्यवस्थापनमा स्थानीय निकायबीचको समन्वय महत्वपूर्ण रहेको बताए। अनलाइन नागरिकता सिफारिससहितका डिजिटल सेवाले ग्रामीण भेगमा बसोबास गर्ने नागरिकका लागि निकै राहत मिलेको र अझै क्षमता अभिवृद्धि तथा प्रणाली सुदृढीकरण आवश्यक रहेको सहभागीले सुझाव दिएका थिए ।
जिल्ला प्रशासन कार्यालयले आगामी दिनमा पनि विभिन्न स्थानीय तहसँग सहकार्य गर्दै सेवा प्रवाह सुधार तथा शान्ति–सुरक्षासम्बन्धी कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्ने जनाएको छ।

झिल्को खबर । २२ मंसिर २०८२, आईतवार ०६:४३