सल्यान — घर र गोठमा आगालागी हुँदा एक महिला घाईते भएकी छिन् । बन्गाड कुपिण्डे नगरपालिका ९ सेरास्थित चन्द्रकली बुढाथोकीको घरगोठमा बुधबार बिहान १० बजेतिर आगो लागेको थियो । आगलागीबाट एक गोरुको पनि मृत्यु भएको छ । एक गोरु, एउटा दुहुनो भैसी र पाडा आगलागीबाट घाईते भएका छन ।
गाईबस्तुलाई खोले पकाउन बालेको आगोले गोठमा राखेको खरमा टिपेपछि आगलागी सुरु भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरिक्षक बाबुराम बस्नेतले घरमा कोही नभएका बेला भएको आगालागी भएको र धेरै क्षति पुगेको बताए । उनले स्थानियको सहयोगमा घरभीत्रको खाद्यान्न, लत्ताकपडा बचाउन सकिएको बताए । आगलागीमा ठ्याक्कै कति रकमको क्षति भएको भन्ने खुली नसकेको उनले बताए ।
वडा अध्यक्ष रुद्रबहादुर परियारले उद्धार गरिएपछि एक गोरुको अवस्था पनि नाजुक रहेको बताए । आगलागीबाट घर पुरै जलेपछि चन्द्रकला र उनका परिवारलाई आफन्तीकहाँ राखिएको उनले बताए ।
झिल्को खबर । २८ फाल्गुन २०८१, बुधबार २१:०९