
सुर्खेत । सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीले अब प्याकेटको पूरै भाग छोप्ने गरी चेतावनीमूलक सन्देश राख्नुपर्ने भएको छ । यससम्बन्धी निर्देशिकालाई संशोधन गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वीकृति गरेका हुन् ।
यसअघि २३ माघमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका लागि भन्दै सुर्तीजन्य पदार्थको प्याकेट पूरै छोप्ने गरी चेतावनीमूलक सन्देश राख्नेसम्बन्धी निर्देशिका स्वीकृत गरेका थिए । निर्देशिकामा भएको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्थामा हालै संंशोधित गर्दै मन्त्री पौडेलले अगाडि र पछाडिको शतप्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत गरेका हुन् । निर्देशिका भदौ ०८२ देखि कार्यान्वयनमा आउनेछ । चेतावनीमूलक सूचनाले सुर्ती तथा चुरोट छाड्नेको संख्या वृद्धि हुने अध्ययनहरूले देखाएका छन् ।
नेपालमा हरेक वर्ष ३७ हजारको सुर्ती तथा चुरोट सेवनबाट ज्यान जाने गरेको मन्त्रालयको तथ्यांक छ । चेतावनीमूलक सन्देश छापेका कारण थाइल्यान्डमा ८५ प्रतिशतले धूम्रपान छाडेको एक अध्ययनले देखाएको छ । नेपालमा समेत यस्तो सन्देशले काम गरिरहेका र संंशोधित निर्देशिकाले सुर्ती चुरोटको प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य रोगमा कमी हुने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
त्यस्तै, मदिरा ऐन ०३१ ले मदिराजन्य पदार्थको बिक्रीसम्बन्धी निश्चित मापदण्ड तयार गरेको छ । तर, त्यसमा नयाँ उद्योग नखोल्ने भन्नेमा कुनै विषय उल्लेख छैन । ‘मदिरा ऐनले उद्योगको विषयमा बोलेको छैन, मात्रै बिक्री–वितरणबारे निश्चित व्यवस्था गरेको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले भने, ‘तर बिक्री वितरणसम्बन्धी ऐनमा केही व्यवस्था रहेका छन् ।’
झिल्को खबर । १३ चैत्र २०८१, बुधबार ०६:०७