कर्णाली र बागमती बाहेक अरुले राष्ट्रिय खेलकुदको महत्व बुझेनन् – मन्त्री गहतराज

बुटवल । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिव्र भइरहँदा कर्णाली र बागमती बाहेक अन्य प्रदेश सरकारहरुले तयारी नगरेको आरोप लगाएका छन् ।

मन्त्री गहतराजले खेलकुदलाई महत्व दिएर बजेट बिनियोजन नगरिदिएका कारण जिल्लाहरुमा प्रतियोगिताको तयारी फितलो भएको बताए । कर्णाली र बागमतीमा प्रदेश सरकारले खेलकुदलाई विशेष महत्व दिएपनि अन्य प्रदेशमा कम महत्व दिइएको मन्त्री गहतराजको आरोप छ । नवों खुलकुदका लागि मधेश प्रदेश र लुम्बिनीमा सबैभन्दा समस्या देखिएको उनले जनाए ।

प्रतियोगिता संचालन गर्न गण्डकी प्रदेशमा संरचना तयार अन्तिम चरणमा पुग्दै गरेको बताउँदै उनले पूर्वाधारको अभावका कारण स्विमिङ र सुटिङ भने राजधानी काठमाडौंमा संचालन हुने जानकारी दिए । मन्त्री गहतराजले ती खेलहरुका लागि पूर्वाधार निर्माण गर्न मात्र ३४ लाख आवश्यक पर्ने उल्लेख गर्दै बजेट र समय अभावका कारण काठमाडौं मै संचालन गर्नु पर्ने भएको बताए ।

खेलकुदमा आफ्नो प्रदेशको अवस्था प्रदर्शन गर्ने एउटा अवसरका रुपमा रहेको राष्ट्रिय खेलकुदलाई महत्वमा राखेर सहयोग गरिदिन उनले सबैलाई आग्रह गरे ।

लुम्बिनी प्रदेशमा प्रदेश सरकारले पर्याप्त बजेट बिनियोजन नगरिदिएकै कारण जिल्ला स्तरिय तयारीहरु चन्दा उठाएर संचालन भइरहेका छन् उनले भने ।

उनले ३६ वटा खेलहरुका लागि ७ प्रदेश, ३ विभागिय टिम र एनआरएन गरि ११ वटा टिम सहभागी हुने जानकारी दिए ।